
काठमाडौं, १३ असोज । विश्व बैंक समूहको सदस्य आईएफसीले ग्रीन ग्लोबल ट्रेड फाइनान्स प्रोग्राम (जीटीएफपी) अन्तर्गत ग्लोबल आईएमई बैंकलाई क्लाइमेट स्मार्ट ट्रेड फाइनान्स लाइन सुविधा विस्तार गरेको छ ।
यो आईएफसीको विश्वमै पहिलो ग्रीन ट्रेड फाइनान्स लाइन हो । बुधबार आयोजित एक कार्यक्रममा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र आईएफसीका दक्षिण एशिया क्षेत्रीय प्रबन्धक जुन योङ्ग पार्कले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
यो कार्यक्रम नेपाल जस्तो विकासशील अर्थतन्त्रहरूमा अन्तर्राष्ट्रिय व्यापार प्रर्वधन तथा ट्रेड फाइनान्स लिमिट पूर्ती गर्ने उद्देश्यले ल्याइएको हो । यस परियोजनाले ग्लोबल आईएमई बैंकलाई बैंकको बढ्दो व्यापार व्यवसायमा माग र आपूर्तिबीचको अन्तरलाई सम्बोधन गर्न मद्दत गर्नेछ ।
यस कार्यक्रममा रहेको ‘हरित’ कम्पोनेन्ट बैंकको लागि जलवायु अनुकूल व्यापार व्यवसायको लागि बलियो आधार हो र यसले जलवायु परिवर्तनको असर लाई समेत सम्बोधन गर्दछ । यो कार्यक्रमले ग्लोबल आईएमई बैंक र यसका ग्राहकहरूको लागि ट्रेड फाइनान्समा पहुँच सुधार गर्ने अपेक्षा गरिएको छ ।
यस कार्यक्रमले ग्लोबल ट्रेड फाइनान्स, अन्तर्राष्ट्रिय वित्तीय सम्बन्ध र अन्तर्राष्ट्रिय बजारमा व्यापार विस्तार गर्न सहजीकरण गर्नेछ । साथै, यसले द्विपक्षीय करेस्पोन्डेन्ट बैंकिङ्ग सम्बन्धलाई बलियो र सक्षम बनाउँदै स्थानीय र अन्तर्राष्ट्रिय बैंक तथा तिनीहरूका ग्राहकहरूबीच नयाँ सम्बन्धहरू विस्तार गर्न सहयोग गर्नेछ ।
कार्यक्रममा बोल्दै ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले यो कार्यक्रम नेपालमा जलवायु अनुकूल व्यवसाय विस्तारका लागि सहयोगी बन्ने बताए । उनले ग्लोबल आईएमई बैंकलाई विश्वमै पहिलो पटक जलवायु अनुकूल व्यापार व्यवसायको लागि लगानी सुविधा प्रदान गरेकोमा आईएफसीलाई धन्यवाद समेत व्यक्त गरे ।
‘यो आर्र्ईएफसीको जीटीएफपी लाइनले ग्लोबल आईएमई बैंकलाई अझ राम्रो क्षमताका साथ थप अन्तर्राष्ट्रिय बैंकहरूसँग सम्बन्ध विस्तार गर्न सहयोग गर्नेछ र बैंकलाई आफ्ना विभिन्न भौगोलिक क्षेत्रमा रहेका ग्राहकहरूका लागि थप कारोबार गर्न मद्दत गर्नेछ,’ ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले भने, ‘वास्तवमा, यो हाम्रो रणनीतिक एजेन्डामा फिट हुन्छ किनकि यसमा जलवायुको विषय समावेश छ ।’
ग्लोबल आईएमई बैंक र आईएफसीबीच यो दोस्रो साझेदारी हो । सन् २०१९ मा आईएफसीले बैंकलाई साना तथा मझौला व्यवसायमा लगानी गर्नको लागि २० मिलियन अमेरिकी डलर लगानी गरेको थियो ।















प्रतिक्रिया