३ कार्तिक २०८३, मंगलबार

प्रथम तुलसीपुर साँस्कृतिक मेला सञ्चालन हुँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तुलसीपुर, १३ असोज । दाङको तुलसीपुरमा ‘प्रथम तुलसीपुर साँस्कृतिक मेला २०७९’ सञ्चालन हुने भएको छ ।

स्थानीय कला संस्कृतिका संरक्षण गरी नवप्रतिभाको उजागर गर्ने उद्देश्यका साथ आगामी असोज २५ गतेदेखि कातिक ८ गतेसम्म मेला सञ्चालन गर्न लागिएको हो ।

मेलामा लोक दोहोरी र नृत्य प्रतियोगिताका साथै अन्य विविध साँस्कृतिक कार्यक्रम हुने भएको छ । ‘स्वास्थ्य शिक्षा, सुचना हाम्रो अभियान, कला, संस्कृती र भेषभुषा हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ सञ्चालन हुन लागेको मेलामा एकल, युगल र सामुहिक नृत्य र दोहोरी प्रतियोगिता हुने मूल आयोजक मितेरी युवा क्लबका अध्यक्ष अजय बुढाथोकीले जानकारी दिए ।

उनका अनुसार मेलामा स्थानीय तथा राष्ट्रिय कलाकारको विभिन्न साँस्कृतिक प्रस्तुति रहने भएको छ । मेलामा आदिवासी, जनजाती समुदायको रहनसहन र भेषुभुषा प्रदर्शनी हुनुका साथ बाल उद्यान पनि रहने उनले बताए ।

नृत्य तथा दोहोरी प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने पुरस्कार समेत प्राप्त गर्ने भएका छन् । नृत्य प्रतियोगितामा प्रथम हुनेले १ लाख, द्वितीय हुनेले ५० हजार र तृतीय हुनेले २५ हजार पुरस्कार प्राप्त गर्ने उनले जानकारी दिए ।

यस्तै लोक दोहोरी प्रतियोगितामा प्रथम हुनेले ५० हजार, द्वितीय हुनेले २५ हजार र तृतीय हुनेले १५ हजार पुरस्कार प्राप्त गर्ने अध्यक्ष बुढाथोकीले बताए । दोहोरी प्रतियोगिताको लागि पहिलो चरणमा असोज २६ देखि ३० गतेसम्म अडिसन (छनौट) प्रतियोगिता हुने क्लबका उपाध्यक्ष सुरज ज्ञवालीले जानकारी दिएका छन् ।

मेला तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ को पातुखोला पुलको उत्तरतर्फ सञ्चालन हुने उनले बताए । मेलामा करिब दुई लाखले अवलोकन गर्ने र २५ लाखको कारोबार गर्ने लक्ष्य रहेको आयोजकले जनाएको छ ।

आयोजक क्लबले मेलामा बिक्रि भएको प्रति टिकटको पाँच रुपैयाँ सामाजिक काममा समेत लगाउने भएको छ ।