
भक्तपुर, ११ असोज । ४३औँ विश्व पर्यटन दिवसको अवसरमा भक्तपुर नगरपालिकाले गाईजात्राको सप्ताह व्यापी प्रदर्शन गरिएका सांस्कृतिक विधा र गुरुहरुलाई प्रमुख अतिथि नारायणमान बिजुक्छे (रोहित)ले सम्मान गरिएको छ ।
प्रमुख अतिथि नारायणमान बिजुक्छेले पुर्खाले सिर्जना गरेको सांस्कृतिक विधाहरूको संरक्षणमा नपा र सहकारी विद्यालयका साथै कलाकार, डकर्मी, सिकर्मी रहेको बताउँदै भक्तपुरको निर्माणमा स्थानीय जनताको योगदानलाई विश्वविद्यालयका प्राध्यापक सरह रहेको बताए ।
उनले भक्तपुरका जनतामा ज्ञानको घमण्ड नरहेकोले नयाँ पुस्तामा ज्ञान सीप हस्तान्तरण भइरहेको बताउँदै लोभलालच र भ्रष्टाचारमा नफसेर भक्तपुरको सरसफाइ एवम् विकासको बीउ लिन विभिन्न नगरपालिकाका जनप्रतिनिधिहरुले भ्रमण गर्ने गरेको बताए ।
भेतनाम युद्धको विरोध भक्तपुरबाट सुरु हुँदा विश्वको ध्यान केन्द्रित भएको र राम्रो बीउको कारण बाली स्वत राम्रो भएको बताउँदै उनले सांस्कृतिक सम्पदाको विदेशीले अवलोकन गर्न तिरेका शुल्कले मठमन्दिर सरसफाइ, जनताको शिक्षा स्वास्थ्य अन्य पूर्वाधारमा खर्च भइरहेको बताए ।
उक्त कार्यक्रमका अतिथि प्रेम सुवालले पर्यटनमा पर्यटकहरूले भूगोल र रहनसहन एवम् संस्कृतिको अध्ययन गर्ने भएकोले त्यसको संरक्षणले जनता आर्थिक रूपमा सफल हुने बताउँदै मुर्त र अमुुर्त सम्पदाको पनि संरक्षण गर्नुपर्नेमा बताए ।
नेपालमा अर्थतन्त्र बलियो बनाउने सरकार नहुँदा विदेशीसँगै सहयोग लिएर देश झन् झन् कमजोर हुने बताउँदै उनले भक्तपुरको पच्पन्न झ्याले दरबारसँगैको सिंह ध्वाका दरबार (राष्ट्रिय संग्रहालय) मल्लकालीन स्वरूपमा पुनःनिर्माण गर्न सरकार नलागेको बताए ।
अतिथि सुवालले निर्वाचनको घोषणा भएसँगै निष्पक्ष निर्वाचनका लागि आचारसंहिता लागू भएकोले संसद् र सरकार स्वत परिवर्तन हुनुपर्ने बताउँदै नागरिकता विधेयक पास भएको खण्डमा सिकिम झैं विलय हुने र नेपालका ठूला व्यापारी नाङ्गलो व्यापारीमा परिवर्तन हुने बताए ।
उनले राष्ट्रपतिद्वारा देश बचाउन नागरिकता विधेयक प्रमाणित गर्दा राष्ट्रपतिलाई अदालतमा उभ्याउन सरकार लागेकोले देशको हितको लागि निरन्तर आवाज उठाइरहने बताए ।
सोही कार्यक्रममा सुरेन्द्रराज गोसाइँले शताब्दीऔँ अघि पुर्खाले विकसित गरेको सांस्कृतिक विधामा महिलाहरूको सहभागी बढ्दो क्रममा रहेको र सांस्कृतिक धरोहरहरूको पुनःनिर्माणमा जनताको सहयोगले आफ्नो खुट्टामा उभिएको अवस्थामा विश्वले सम्मान गरेको बताए ।
चीन र तिब्बतसँगको सामिप्यताले विश्वको मानव समुदायलाई गोरव तुल्याउन भक्तपुर नगर र यहाँको जनता रहेको बताउँदै गोसाइँले जीवनोपयोगी शिक्षा दिने विश्वविद्यालयका व्यवस्थापक भक्तपुरका जनता रहेको बताए ।
उनले सम्पदा संस्कृतिको उत्थानका लागि जनताको सहयोग नै मौलिकता भएको बताउँदै सांस्कृतिक हमला बम गोला भन्दा खतरनाक रहेकोले राजनीतिक र सांस्कृतिक रूपमा सचेत हुन आह्वान गरे ।
प्राध्यापक तथा संस्कृतिविद् विश्व मोहन जोशीले संस्कृति हासखेलका जीवनचक्रको व्यवहार भएको बताउँदै देशको मौलिक पहिचानलाई कायम राख्न र सांस्कृतिक अतिक्रमणबाट बचाउन भक्तपुर नगरपालिकाले पहिचानसहित पुस्ता हस्तान्तरणको लागि गरेको कार्य प्रति सम्मान व्यक्त गरे ।
निर्णायक मण्डलका सदस्य ईन्दिरा लाछिमस्युले विश्व विद्यालय शिक्षामा पाउन नसकेको सीप हाम्रा पुर्वजमा भएको र नयाँ पुस्तामा हस्तान्तरण गर्न विद्यालय स्तरमै स्थानीय पाठ्यक्रममा समावेश गर्न जोड दिए ।
पुरस्कार पाउन सफल परम्परागत सांस्कृतिक विधा प्रदर्शन गरिएको उक्त कार्यक्रममा सांस्कृतिक गुरूहरुलाई प्रमुख अतिथि नारायणमान बिजुक्छेले प्रत्येक वडाबाट २÷२जना सांस्कृतिक गुरुहरुलाई दोसल्लाओढाई नगद रु. १५,००० सहित सम्मानपत्र प्रदान गरिएको थियो भने उनले उत्कृष्ट कलाकारहरुलाई पुरस्कार वितरण गरेका थिए ।
नेमकिपाका केन्द्रीय सचिव प्रेम सुुवालले सुवालले घिन्ताङघिसी, माकप्याखं, आधुनिक र परम्परागत विधाका विजेता कलाकारलाई पुरस्कार दिएका थिए ।
उक्त कार्यक्रमका सभापति भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले ख्वप सः का कार्यक्रम संचालक र निर्णायक मण्डलका सदस्यहरूलाई धन्यवाद पत्र र मायाको चिनो प्रदान गरेका थिए ।
भक्तपुर नगरपालिकाका प्रशासकिय अधिकृत कृष्ण गिरिले स्वागत गरेको सो कार्यकममा भक्तपुर–७ का वडाध्यक्ष उकेश कवां लगायत भक्तपुर–९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले बोलेका थिए ।
सो कार्यक्रममा माकप्याखंमा प्रथम हुन सफल कोतदेवी दाफाभजनको माकप्याखं, देवीप्याखंमा प्रथम हुन सफललगलसीपुखुको देवीप्याखं, दोस्रो हुन सफल पासापुच समूहको लाखो प्याखं देखाइएको थियो ।















प्रतिक्रिया