
काठमाडौं, ११ असोज । नवरात्रको दोश्रो दिन, आज देशभरका शक्तिपीठ एवम् देवी मन्दिरमा भक्तजनको भीड लागेको छ ।
राजधानीका गुह्येश्वरी, जयवागेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, श्वेतकाली, भद्रकाली, दक्षिणकाली, चामुण्डामाई, सुन्दरीमाई, बज्रयोगिनीलगायत मन्दिरमा भक्तजनको भीड छ । शक्तिपीठ तथा देवी मन्दिरलाई ध्वजापताकाले सिङ्गारिएको छ । नवरात्रका अवसरमा कम्तीमा पनि नौ वटा देवी मन्दिरमा दर्शन गर्ने गरिन्छ ।
यसैगरी उपत्यका बाहिरका देवी मन्दिरमा पनि भक्तजनको भीड छ । पाथीभरा, छिन्नमस्ता, गहवामाई, पलाञ्चोक, पाल्चोक, नाला भगवती, चण्डेश्वरी, मनकामना, इच्छाकामना, विन्ध्यवासिनी, बागलुङ कालिका, शैलेश्वरी, उग्रतारालगायत देशभरका देवी मन्दिरमा भक्तजनको भीड लागेको जनाइएको छ ।
नवरात्रसमेत भनिने यस अवसरमा शक्तिपीठमा दर्शन गरेमा मनोकामना पूरा हुने धार्मिक विश्वास छ । यस अवसरमा महाकाली, महालक्ष्मी र महासरस्वतीको पनि विशेषरुपमा पूजा आराधना गरिन्छ ।
नौ दिनसम्म विशेष साधना गरे मनले चिताएको पुग्ने, शक्ति प्राप्त हुनेलगायत धार्मिक विश्वास छ । नवौँ दिनसम्म विधिपूर्वक पूजा आराधना गरिएको दुर्गादेवीको प्रसाद विजयादशमीका दिन मान्यजनका हातबाट लगाइन्छ ।















प्रतिक्रिया