
काठमाडौं, ११ असोज । नेपालीहरुको महान चाड दसैँ नजिकिएसँगै काठमाडौं महानगरको चाडपर्व लक्षित बजार अनुगमन सुरु भएको छ ।
काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलको नेतृत्वमा आजबाट चाडपर्व लक्षित बजार अनुगमन सुरु भएको हो । आजै महानगरपालिकाले टुकुचास्थित प्रदर्शनीमार्गमा रहेको तकारी तथा फलफूल बजारको अनुगमन गरेको छ भने खाद्यन्न पसलहरुमा पनि अनुगमन गरेको छ ।

उपेमयर डंगोलका अनुसार महानगरपालिकाले आजै भाटभटेनी सुपर मार्केटमा पनि अनुगमन गरेको छ । उपप्रमुख डंगोलको नेतृत्वमा आज तीन वटा समुह बजार अनुगमनका लागि परिचालित भएका छन् । ‘कुनै पनि पसलमा सामान किन्न जाँदा उपभोक्ताले ठगिएको महसुस गरेको अवस्थामा वा अखाद्य बस्तु विक्रि गरिरहेको भेटिएमा हाम्रो हटलाईन ११८० र १६६००१०५५११ मा खवर गर्न पनि आग्रह गर्दछौँ,’ अनुगमनकै रहनु भएकी उपमेयर डंगोलले भनिन्, ‘हामी यो अनुगमनलाई दसैँ अघि र पछि पनि निरन्तरता दिन्छौँ । तपाईँहरुले खवर गरेको आधारमा पनि हामी तत्काल अनुगमन टोली त्यहाँ खटाउछौँ र आवश्यक कारवाही प्रक्रिया अघि बढाउछौँ ।’

उनले आज टुकुचास्थित प्रदर्शनीमार्गमा रहेको तकारी र फलफूल बजामा अनुगमन गरेको जानकारी दिइन् । उनका अनुसार आजै त्यहाँ आसपासका खाद्यन्न पसलहरुमा पनि महानगरपालिकाले अनुगमन गरेको छ । ‘हामीले आजै भाटभटेनीमा पनि अनुगमन गरेका छौँ,’ उनले भनिन्, ‘हामीले आजको अनुगमान मिति गुज्रिन लागेका र अरु सामान पनि एकै ठाउँमा राखेको भेटायौँ । उहाँहरुलाई यस्ता सामान छुट्याएर राख्न आग्रह गरेका छौँ । म्याद गुज्रिएका सामान भेटिएको अवस्थामा तत्कालै कारबाही गर्छौँ । हामीले अनुगमन त्यहि अनुसार गरिरहेका छौँ ।’

उपमेयर डंगोलले अनुगमनका क्रममा केही पसलमा विक्रिका लागि राखिएको प्याकेजिङमा उत्पादन मिति प्रष्टसँग नलेखिएको र हातले पुछ्दा सहजै मेटिने भेटिएको पनि बताइन् । ‘त्यस्तो भेटिएको ठाउँमा हामीले सजग गराउँदै प्याकेजिङमा उत्पादन मिति प्रष्टसँग लेखिएको सामान मात्रै विक्रि गर्न भनेका छौँ ।’

उनले अनुगमनका क्रममा केही डिपार्टमेन्ट स्टोरले स्थानीय उत्पादनको सामान पनि राखेको भेटिएको बताइन् । ‘उहाँहरुलाई स्थानीय उत्पादन लिदाँ उहाँहरुको कम्पनी दर्ता छ कि छैन ? प्यान नम्बर छ कि छैन् हेरेर मात्रै लिन सुझाव दिएका छौँ,’ उनले भनिन्,’ ‘हामीले अनुगनका सिलसिलामा खाद्यन्नलगायतको मूल्यसूचि नियमित ‘अपडेट’ गर्न सुझाव दिएका छौँ । कतिपय ठाउँमा लामो सयमसम्म पनि मूल्यसूचि ‘अपडेट’ गरेको देखिएन । हामी त्यस्ता पसललाई समेसम्म दैनिक नभए पनि दिन विराएर अनिवार्य ‘अपडेट’ गर्न सुझाव दिएका छौँ । मुख्य गरेर चाडपर्वको समयमा बढी भिडभाड हुने र उपभोक्ता ठगिने भएकाले हामीले चाडपर्व लक्षित अनुगमन सुरु गरेका छौँ ।’ बजार अनुगमन कार्यक्रममा संघ तथा प्रदेश कार्यालयहरु सहभागी हुने छन् । बजार अनुगमनका क्रममा सुलभ पसल, तरकारी, माछा, मासु, दुग्ध पदार्थ, डिपार्टमेन्ट स्टोर लगायत हेरिने बताइएको छ ।
















प्रतिक्रिया