२ कार्तिक २०८३, सोमबार

हिमालयन आर्ट फेस्टिभल बबरमहलमा सुरू, अस्ट्रेलियन राजदूत भोल्कले गरिन् उद्घाटन

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० असोज । ई–आर्टस नेपालले काठमाडौंको बबरमहलमा ‘हिमालयन आर्ट फेस्टिभल’ आयोजना गरेको छ ।

काठमाडौंको बबरमहलस्थित नेपालकै सबैभन्दा स्तरीय र बृहत् कला प्रदर्शनीस्थल नेपाल कला परिषद् (नेला आर्ट काउन्सिल) आज सोमबारदेखि शुरू भएको फेसिटभलको उद्घाटन नेपालका लागि अस्ट्रेलियाकी राजदूत फेलिसिटी भोल्कले गरेकी छिन् ।

उद्घाटनपछि उनले यस्तो प्रदर्शनीले कला जगतमा थप ऊर्जा प्रदान गर्ने तथा कलाको विकासका लागि नेपाली जनमानसहरू नै अगाडि आउनु पर्ने बताइन् । कार्यक्रममा विभिन्न विशिष्ट व्यक्तित्वहरू, कला पारखीहरू र कलाकारहरूको उल्लेख्य उपस्थिति थियो ।

फेस्टिभल असोज १४ गतेसम्म जारी रहने आयोजक ई–आर्टस नेपालले जानकारी दिएको छ ।

नेपाली कला जगत्का विषयमा छलफल चलाउने, कलाकारहरूसँग सम्वाद गर्ने, सांगीतिक कार्यक्रम गर्ने जसले विभिन्न कलाकारहरूलाई एकै थलोमा कलाको भलाकुसारी गर्ने अवसर मिलोस् भन्ने उद्देश्य प्रदर्शनीको छ । साथै, वरिष्ठ कलाकार हरि प्रसाद शर्माको चित्रकला अक्सनमा समेत राखिएको जानकारी आयोजकले दिएको छ ।

त्यस्तै कार्यक्रमको प्रमुख उद्देश्य भनेको कलाको विविध पाटा तथा यसको महत्वलाई विभिन्न क्षेत्रका मानिसहरूलाई अवगत गराउनु रहेको छ । साथै, नेपालको व्यापारिक कम्पनीहरू तथा लगानीकर्ताहरूले कला समेत गत लगानी गर्नका लागि यस प्रदर्शनीले प्रोत्साहन गर्ने उद्देश्य समेत रहेको बताइएको छ ।

नेपालीमा रहेका कला संकलकहरूले नेपाली कलाको अवस्था र कलाकारहरूको प्रगति समेत यस प्रदर्शनीबाट थाहा पाउन सकिने छ ।

हिमालयन आर्ट फेस्टिभल नाम दिइएको उक्त प्रदर्शनी ई–आर्टसले सन् २०१७ देखि निरन्तर रूपमा हरेक वर्ष नेपालीहरूको महान् चाड दशैंको अवसर पारेर आयोजना गर्दै आइरहेको छ ।

सन् २०१७ मा समसामयिक चित्रकला र मूर्तिहरूबाट शुरु गरिएको यस फेस्टिभलमा जम्मा ५० जना कलाकारहरूले भाग लिएका थिए । त्यसपछि २०१८ देखि काठमाडौं उपत्यकामा रहेका कलाकारहरूका विभन्न संस्थाहरूसँग कुराकानी गरेर उनीहरूको सपोर्ट लिँदै थप कलाकारहरू थप्दै गएको बताइएको छ ।

अहिले हुने प्रदर्शनीमा कलाका विभिन्न विधालाई समेटिएको छ । नेपाली वरिष्ठ कलाकारहरूदेखि वर्तमानका पुस्ताका कलाकारहरूको कामलाई प्रदर्शनीमा राखिएको छ । कलाकारहरूः शशी शाह, किरण मानन्धर, शशिकला तिवारी, हरि प्रसाद शर्मा, कृष्ण मानन्धर, राजन काफ्ले, भुवन थापा, आशा डंगोल, एरिना ताम्राकार, जुपिटर प्रधान, विधाता के.सी, सागर मानन्धर, उजय बज्राचार्य, सविता डंगोल, इशान परियार, जगदिश मोक्तान, पुजा दुवाल, नविना सुनवार लगायत करिब १३० जना कलाकारहरूको कलाकृति एउटै थलोमा हेर्न सकिन्छ ।

प्रदर्शनीको अर्को आकर्षण भनेको एक जना वरिष्ठ कलाकारलाई एउटा छुट्टै स्थान बनाएर उहाँको कलाकृतिलाई त्यहाँ राखिने कार्यक्रम समेत सन् २०१९ देखि गर्दै आइरहेको ई–आर्ट्स नेपालका संस्थापक कलाकार सुजन श्रेष्ठ बताउँछन् । यस पटक उक्त स्थानमा कलाकार हरिप्रसाद शर्माका कृतिलाई प्रदर्शनीमा राखिएको छ ।

हिमाल, पहाड, तराइका कलाकारहरूको सहभागिता यस प्रदर्शनीमा रहेको छ । महिला कलकारहरूको समेत उल्लेख्य सहभागिता रहेको छ । यस प्रदर्शनीमा चित्रकलाका साथसाथै मूर्तिकला, इन्स्टलेसन, एचिङ्ग तथा पौभाहरूलाई पनि समावेश गरिएको छ ।