३ कार्तिक २०८३, मंगलबार

सन्दीप भन्छन्– चरित्रहत्याको समाचारले विक्षिप्त छु, झुट्टा उजुरीको प्रतिवाद गर्न नेपाल आउँदैछु

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० असोज । नाबालिका बलात्कारको आरोप लागेका नेपाली क्रिकेट टीमका निलम्बित कप्तान सन्दीप लामिछानेले आफू चाँडै नेपाल आउन लागेको बताएका छन् ।

यसअघि ‘बेपत्ता’ भएका भनिएका लामिछानेले हिजो आइतबार राति आफ्नो फेसबुकमा लामो स्टाटस लेखेर चाँडै नेपाल आउने जानकारी दिएका हुन् ।

यसबीचमा आफ्नोबारे विभिन्न सञ्चारमाध्यमबाट प्रकाशित÷प्रशारित समाचारले आफू मानसिक रूपमा विक्षिप्त हुनाका साथै मानसिक तनावले आइसोलेशनमा बस्नुपरेको पनि उनले उल्लेख गरेका छन् ।

‘मेरो नाउँमा वारेण्ट जारी भएको समाचार र मविरुद्द परेको जाहेरी सार्वजनिक हुनुले मलाई मानसिक रुपमा विछिप्त बनायो, के गर्ने के नगर्ने भन्ने सोच्न सक्ने अवस्था मेरो रहेन,’ उनले लेखेका छन्, ‘यि सब कुराले मलाई एकातिर मानसिक असर गर्यो भने अर्कोतिर म बिरामी अवस्थाबाट गुज्रिन पर्यो र मानसिक तनाव र स्वास्थ्य खराबीका कारणले मैले मलाई आइशोलेशनमा राखेर बसेको छु ।’

आफूमाथि लागेको आरोपबारे विभिन्न सञ्चारमाध्यमहरूमा एकतर्फी समाचार आएको र सोही कारण बिरामी परेको उनको भनाइ छ । ‘मविरुद्ध भदौ २१ गते परेको जाहेरी मैले भदौ २२ गते थाहा पाएँ । मविरुद्ध परेको झुट्टा जाहेरीको विषयमा विद्युतीय सञ्चार माध्यम र समाजिक सञ्जालमा एकलौटी तरिकाले, सत्यतथ्य नबुझी झुट्टा जाहेरी मात्रको आधारमा मेरो चरित्रमा गम्भीर आँच आउने गरी समाचारहरु आए । यसले मलाई गम्भीर असर पुर्याएको छ ।’

झुट्टा जाहेरीकै भरमा आफूलाई अपराधीको चित्रण गरिँदा मानसिक र शारिरीक रुपमा प्रभावित भई असन्तुलित अवस्थामा पुगेपछि अहिले डाक्टरहरुको सरसल्लाहामा बस्नुपरेको उनको भनाइ छ । ‘झुट्टा जाहेरी कै भरमा अपराधीको चित्रणले मलाई मानसिक र शाररीक रुपमा प्रभावित भई असन्तुलित अवस्थामा पुगि डाक्टरहरुको सरसल्लाहामा आफूलाई सामान्य अवस्थामा ल्याउँदै आएको छु । मेरो स्वास्थ्यमा क्रमिक सुधार आउँदै छ र जति सक्दो चाँडो नेपाल फर्किएर मविरुद्धको झुट्टा उजुरीको डटेर प्रतिवाद गर्न नेपाल फर्किने तरखरमा छु ।’

राष्ट्रका लागि दीलोज्यान दिएर क्रिकेट खेलिरहेको आफूमाथि गम्भीर षडयन्त्र भएको पनि उनले उल्लेख गरेका छन् ।

‘मेरो अनुपस्थितीमा मलाई अपराधि सावित गराउने झुट्टा झुट्टा जाहेरी प्रपञ्चहरुको मैले कानूनी लडाँइ लड्ने छु,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मैले बुझेसम्म नेपालको संविधानले कसूर प्रमाणित नभएसम्म कसूरदार नमानिने व्यवस्था गरेको छ । साथै संविधानले सम्मानपूर्वक बाँच्न पाउने, यातनाविरुद्धको हक, गोपनीयताको हक, स्वास्थ्यसम्बन्धीको हक र मेरो कानून व्यवसायीसँग कानूनी परामर्श गर्न पाउने हक समेत रहेको बुझेको छु ।’