
तनहुँ, १० असोज । तनहुँको म्याग्दे गाँउपालिका–७ स्थित धानबालीमा ‘मिले बग’ नामक रोगको प्रकोप देखिएको छ ।
सो रोगले पाक्न लागेको धान खेतीमा असर पार्न थालेपछि यहाँका किसानहरू चिन्तित बन्न थालेका छन् । म्याग्दे–७ को पयेरमा करिब ३०० रोपनी जग्गामा लगाइएको धान खेतीमा यो रोगको असर देखिएको छ ।
झट्ट हेर्दा खैरे रातो रोग जस्तो देखिने ‘मिले बग’को रोकथामका लागि जिङ्ग सल्फेट हालिएको भए पनि केही सुधार नभएको स्थानीयले बताएका छन् । पछि यसको जानकारी गाँउपालिकामा गराएपछि गाँउपालिकाको उपाध्यक्ष, वडा नं ७ का अध्यक्ष बसन्त कुमार श्रेष्ठ र कृषि प्राविधिकको टोलीले सो धान खेतीको निरीक्षण गरेको थियो ।

नेपाल कृषि अनुसन्धान परिषद (नार्क)को परामर्शमा रासायनिक कीटनाशक ‘केमिकल इन्सेक्टिसाइट इमिडाक्लोप्रिड’ उपलव्ध गराएको थियो । बालीमा यो औषधि छर्किसकेपछि केही सुधार भए पनि पूर्ण रूपमा निराकरण नभएको स्थानीय कृषक अम्बिका वाग्ले बताउँछन् ।
करिब ५० जना कृषकले सो क्षेत्रको ३०० रोपनी जग्गामा धानबाली लगाएका छन् । त्यसमध्ये १७० रोपनी जग्गामा लगाइएको धानखेतीको १५ लाख बराबरको नोक्सान भइसकेको किसानहरू बताउँछन् ।

बालीको सुधारका लागि अर्को विषादी ‘नाइटेनपिराम’ छर्किने कृषि शाखाका प्रमुख रुक्मित घिमिरेले बताइन् । धान काट्ने बेलामा रोग लागेपछि कृषकलाई समस्या परेको हुदाँ यसको वर्गीकरण गरेर क्षतिपुर्ति दिइने गाँउपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले बताए ।
‘मिले बग’को प्रकोप म्याग्देमा मात्र नभई सुनसरी र चितवनलगायत जिल्लामा पनि देखिएको बताइएको छ ।















प्रतिक्रिया