
काठमाडौं, ९ असोज । नेपाल स्वरोजगार व्यापार श्रमिक संघले काठमाडौं महानगरपालिकाले माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ ।
आज आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर संघले एक महिनाभित्र पनि महानगरले माग पूरा नगरे चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएको हो ।
महानगरले वार्ता र सम्वादमार्फत समस्या समाधान गर्नुपर्ने र चाडवाडलक्षित गरेर निश्चित् स्थान र समय निर्धारण गरी व्यवसाय गर्ने वातावरण तयार गर्नुपर्ने माग संघले अघि सारेको छ ।
स्वरोजगार श्रमिकहरूको व्यवस्थापनका लागि कानून तथा नीति निर्माण गरिनुपर्ने, श्रमिकहरूलाई टहराको व्यवस्था गरी व्यवसाय गर्ने वातावरण तत्काल बनाउनुपर्ने संघले माग गरेको छ ।
यसैगरी, चाडवाडलक्षित गरेर अल्पकालीन रूपमा बिहान र बेलुकीको निश्चित समय निर्धारण गरी यथास्थानमा व्यवसाय गर्न प्रबन्ध मिलाउन, जफत गरिएका सामानहरू फिर्ता गर्न पनि संघले महानगरलाई आग्रह गरेको छ ।
स्वरोजगार श्रमजीवीहरूलाई राज्यले सम्मान गर्नुपर्नेमा सत्ताको शक्तिको प्रयोग गरेर लछारपछार गर्ने, लगानीनै सिध्याइदिने गरी सामान नियन्न्त्रणमा लिने कार्यको संघले विरोध जनाएको छ ।
त्यस्तै, श्रम डेक्सको स्थापना गरी आफ्ना पालिकाभित्रका श्रमसम्बन्धी विषयहरूलाई व्यवस्थित गरी श्रमिकहरूको आवश्यक सूचीकरणलगायत श्रम व्यवस्थापनसँग सम्बन्धित कामको थालनी गर्नुपर्ने संघले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।















प्रतिक्रिया