शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

सत्तारुढ गठबन्धन प्रतिक्रियावादीहरूको इसारामा चलेको छ, परास्त गर्नुको विकल्प छैन : रायमाझी

दैनिक नेपाल २०७९ असोज ८ गते १८:३०

काठमाडौं, ८ असोज । नेकपा एमालेका सचिव एवम् पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले वर्तमान सत्ता गठबन्धन विभिन्न देशी–विदेशी प्रतिक्रियावादीहरूको इसारामा चलिरहेको बताएका छन् ।

नेकपा एमाले अर्घाखाँची–काठमाडौं सम्पर्क मञ्चले आज शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सचिव रायमाझीले गठबन्धनले चुनाव जित्दा मुलुकको अस्तित्व खतरामा पर्ने भन्दै राष्ट्रवादी शक्ति नेकपा एमालेलाई आगामी निर्वाचनमा मतदान गर्न पनि आम अपिल गरेका छन् ।

सत्तारुढ गठबन्धनले चुनाव जिते मुलुक २० वर्ष पछि धकेलिने भन्दै उनले भने, ‘सत्तारुढ गठबन्धन देशी तथा विदेशी प्रतिक्रियावादीहरुको इसारामा चलिरहेको घटनाक्रमहरूले प्रष्ट पार्दै गएको छ । नेपाली जनताले आगामी निर्वाचनमा गठबन्धनलाई परास्त गर्नुको विकल्प छैन । अन्यथा देश पुनः पछि धकेलिनाका साथै अस्तित्व अतरामा पर्ने सम्भावना छ ।’

त्यस्तै उनले एमालेसँग एक्लै चुनाव लड्ने हैसियत नभएकाहरुले काँग्रेससँग गठबन्धन गरेर आफ्नो अस्तित्व रक्षा गर्न खोजेको पनि बताएका छन् । ‘एमालेसँग प्रतिस्पर्धा गर्न नसकिने निष्कर्षमा पुगेपछि सत्तारुढ दलहरु गठबन्धन गरेरै निर्वाचनमा जान उनीहरू बाध्य भएका छन् ।’

सचिव रायमाझीले केपी ओली नेतृत्वको सरकारले मुलुकको विकास र समृद्धिका लागि गरेको कामलाई नेपाली जनताले कहिल्यै नभुल्ने उनको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित