बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

नेपाल टेलिकमको दशैं अफर : डाटा, भ्वाइस प्याक र रिचार्जमा बोनसैबोनस

दैनिक नेपाल २०७९ असोज ८ गते १५:५१

काठमाडौं, ८ असोज । नेपाल टेलिकमले आफ्ना ग्राहकहरूका लागि ‘दशैं अफर’ सार्वजनिक गरेको छ ।

भोलि (असोज ९) देखि लागू हुने अफरमा विभिन्न डाटा, भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनस पाइने छ । उक्त अफरहरू दशैंभर अर्थात् असोज २३ गतेसम्म मात्रै उपलब्ध हुने कम्पनीले जनाएको छ ।

डाटा प्याक अन्तर्गत रू. २९४ मा २० जीबी डाटा १० दिनभित्र र रू. ९८ मा ६ जीबी डाटा ३ दिनभित्र प्रयोग गर्न सकिने अफर उपलब्ध हुनेछ । त्यसैगरी एक दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने १ एमबीपीएसको डाटा प्याक र अननेट अनलिमिटेड भ्वाइस प्याक जम्मा रू. ४९ मा उपलब्ध हुनेछ । यी प्याकहरू जुनसुकै समय प्रयोग गर्न सकिने कम्पनीका प्रवक्ता शोभन अधिकारीले जानकारी दिएका छन् ।

उनका अनुसार अफर प्राप्त हुने अवधिमा एमपोसमार्फत रिचार्ज गर्दा बोनसको रूपमा डाटा प्याक उपलब्ध गराइने छ । रू. २०० देखि रू. ४९९ सम्म रिचार्ज गर्दा दुई दिनभित्र प्रयोग गर्न सकिने ५०० एमबी र रू. ५०० भन्दा बढीको रिचार्ज गर्दा ४ दिनभित्र प्रयोग गर्न सकिने १,०२४ एमबी डाटा प्याक उपलब्ध हुनेछ ।

यसैगरी पहिलो पटक भोल्टे सेवा सब्सक्राइब गर्ने सेवाग्राहीका लागि २८ दिनसम्म प्रयोग गर्न सकिने २०० मिनेटको निःशुल्क भ्वाइस ओभर एलटीई सेवा पनि उपलब्ध गराइएको प्रवक्ता अधिकारीको भनाइ छ ।

उल्लिखित प्याकेजहरू प्राप्त गर्नका लागि ग्राहकले *1415# डायल गर्नुपर्दछ । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धी जानकारी लिन र सेवा खरिद गर्न सकिन्छ । कम्पनीको वेबसाइट मार्फत पनि यस सम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न र सेवा खरिद गर्न सकिन्छ ।

प्रतिक्रिया
सम्बन्धित