३ कार्तिक २०८३, मंगलबार

बाबुराम भट्टराई र म नयाँ जनयुद्धको तयारी गरिरहेका छौँ : प्रचण्ड

672
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र आफू मिलेर नयाँ ‘जनयुद्ध’को तयारी गरिरहेको बताएका छन् ।

भट्टराई नेतृत्वको नेसपाले दशैं, तिहार र छठलगायत विभिन्न चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान गर्न आयोजना गरेको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो सङ्केत गरेका हुन् ।

नेपालमा नयाँ खालको जनयुद्ध आवश्यक भएको बताउँदै उनले भने, ‘हामी दुवैले अलगअलग प्रयोग गर्यौं, तर सफल भइएन । हामी अलग–अलग प्रयोग गर्न हिँड्दा प्राप्त उपलब्धी गुम्ने खतरा बढ्यो । अब नेपालमा समाजवादका लागि एउटा नयाँ खालको जनयुद्ध आवश्यक छ भन्ने निश्कर्षमा हामी पुगेका छौं ।’

आफूहरूले समाजवादका लागि एउटा नयाँ जनयुद्धको परिकल्पना गरिरहेको उनले स्पष्ट पारेका छन् । ‘पूरानो जनयुद्ध होइन, पुरानो त सम्भव पनि छैन,’ दाहालले सो कार्यक्रममा भने, ‘नयाँ खालको गोरेटो कोर्ने सङ्कल्प गरेपछि हामी एकै ठाउँमा केन्द्रित भएका हौं ।’