बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

चार वटा सुरक्षा निकायका प्रमुखहरुबीच जङ्गी अड्डामा छलफल

दैनिक नेपाल २०७९ असोज ६ गते १९:५३

काठमाडौं, ६ असोज । विभिन्न चार वटा सुरक्षा निकायका प्रमुखहरूबीच नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा भेटवार्ता तथा छलफल भएको छ ।

नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मा, नेपाल प्रहरीका महानिरीक्षक धिरज प्रताप सिंह, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्याल तथा राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापाबीच आज बिहीबार जङ्गी अड्डामा भेटघाट तथा छलफल भएको हो ।

उनीहरूबीचको भेटमा आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनलाई लक्षित गरी विभिन्न सुरक्षा योजनाबारे छलफल भएको बताइएको छ ।

‘नेपाली सेनाका उच्च तहका अधिकृतहरुको समेत सहभागीता रहेको उक्त छलफल कार्यक्रममा समसामायिक समग्र सुरक्षा अवस्थाको समीक्षा गर्दै विशेषतः आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनलाई शान्तिपूर्ण ढंगले सफलतापूर्वक सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्थाको बारेमा छलफल एवम् अन्तरक्रिया भएको थियो,’ नेपाली सेनाद्वारा प्रेषित प्रेस नोटमा उल्लेख छ ।

उक्त छलफलका क्रममा सबै सुरक्षा निकायका प्रमुखहरुबीच आसन्न निर्वाचन स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवम् भयरहित वातावरणमा सम्पन्न गर्न नेपाल सरकारबाट सुरक्षा निकायहरुलाई प्राप्त जिम्मेवारीहरु केन्द्रीय, प्रादेशिक र स्थानीय तीन तहमा आपसी समन्वय र सहकार्यका साथ प्रभावकारी रुपमा कार्यान्वयन गर्ने लगायतका विषयहरुमा समेत छलफल भएको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित