शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

बाढी पहिरोका कारण पाकिस्तानमा थप १० को मृत्यु

दैनिक नेपाल २०७९ असोज ५ गते १८:३६

इस्लामावाद, ५ असोज । बाढी पहिरोका कारण पाकिस्तानमा थप १० जनाको मृत्यु भएको छ ।

पाकिस्तानमा पछिल्लो समय बाढी पहिरोका कारण दैनिक मृत्यु हुने गरेको विवरणहरू सार्वजनिक हुने गरेका छन् । अत्यधिक वर्षापछि आएको बाढी पहिरोका कारण पाकिस्तानमा ठूलो जनधनको क्षति भएको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

थप मृत्यु भएका मध्ये चार जना बालबालिका रहेका छन् भने दुई महिला रहेका छन् । फरक फरक ठाउँमा उनीहरूको मृत्यु भएको हो । बाढी पहिरोबाट सबैभन्दा बढी सिन्ध प्रान्त प्रभावित भएको छ । थप मृत्यु भएका १० जना मध्ये नौ जना सिन्ध प्रान्तका मात्रै छन् ।

अर्का एक जनाको भने बालुचिस्तान प्रान्तमा मृत्यु भएको हो । यसअघि अन्य प्रान्तमा पनि मृत्यु भएका विवरण आउने गरेका थिए । पछिल्लो एक दिनमा ५० हजार ९४० घर क्षतिग्रस्त भएका छन् भने २४ हजार ७७५ जनावर मरेका छन् ।

पाकिस्तानमा अहिलेको मनसुन सुरु भएदेखि यता बाढी पहिरोका कारण एक हजार ५६९ जनाको मृत्यु भएको छ । त्यसैगरी १२ हजार ८६० जना घाइते भएका छन् । गत मध्ये जुन देखि पाकिस्तानमा मनसुन सुरु भएको र लगातारको वर्षाका कारण अनपेक्षित क्षति भएको अधिकारीहरूले बताएका छन् ।

यसअवधिमा २० लाख नौ हजार ७९४ घर क्षतिग्रस्त भएका छन् । घर क्षतिग्रस्त भएपछि लाखौ मानिस घरबार विहीन भएका छन् । उनीहरु विभिन्न अस्थायी शिविरमा बसिरहेका छन् । विस्थापित र बाढी पहिरोबाट पीडितहरूलाई विभिन्न राहत तथा सहयोगको आवश्यकता रहेको अधिकारीहरूले बताएका छन् । सिन्ह्वा

प्रतिक्रिया
सम्बन्धित