
काठमाडौं, ३१ भदौ । नेकपा (एमाले) ले संविधान दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाउन भोलि असोज १ गते शनिबार उपत्यकामा ‘वाकथन’ (पदयात्रा) कार्यक्रम गर्दै छ । संविधान जारी भएको सात वर्ष पूरा भएर आठौं वर्षमा प्रवेश गर्दै गर्दा एमालेले संविधान दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउन पदयात्रा गर्न लागेको हो ।
पदयात्राको नेतृत्व पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने एमालेले जनाएको छ । उपत्यकाका विभिन्न पाँच ठाउँ नयाँ बानेश्वर, मैतिदेवी, लैनचौर, कालिमाटी र ललितपुरको कुपण्डोलबाट भोलि बिहान ७ बजे हजारौं मानिसहरूको सहभागितामा पदयात्रा सुरू हुने छ । सबैतिरका पदयात्रा शहीदगेटमा जम्मा भएर वसन्तपुर पुगेर कोणसभामा परिणत हुने छ ।
अध्यक्ष ओलीले नयाँ बानेश्वरबाट सुरू हुने पदयात्राको नेतृत्व गर्ने छन् भने महासचिव शंकर पोखरेल बानेश्वरबाट सुरू हुने पदयात्राको नेतृत्व गर्ने छन् । यसैगरी, लैनचौरबाट शुरू हुने पदयात्राको नेतृत्व वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गर्ने छन् भने मैतीदेवीमा उपाध्यक्षद्वय रामबहादुर थापा ‘बादल’ र सुवास नेम्वाङ, कुपन्डोलबाट उपाध्यक्ष विष्णुप्रसाद पौडेल र कालिमाटीबाट सुरू हुने पदयात्राको नेतृत्व उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले गर्ने एमालले जनाएको छ । पदयात्राको कोणसभालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने छन् ।
संविधान दिवस साझा राष्ट्रिय दिवस भएकाले यस कार्यक्रममा पार्टीको झण्डा, ब्यानर नबोकिने बताइएको छ । पदयात्रामा समाजका विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरू, पेशा, व्यवसायमा संलग्न आम जनसमुदायको सहभागिताको अपेक्षा गरिएको एमालेले जनाएको छ ।

संविधान निर्माण, यसको कार्यान्वयन, संरक्षण र सम्वर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको एमालेले संविधान जारी गर्दा र कार्यान्वयनका चरणमा भोग्नुपरेका कठिनाईलाई समेत स्मरण गर्दै संविधानप्रति आम नागरिककोे अपनत्व बढाउने र संविधान दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाउने परम्परालाई विशेष महत्व दिन चाहेको छ । ‘सात दशक लामो सङ्घर्ष र त्यसबाट प्राप्त सफलता, सफलताको संश्लेषण– संविधान र लोकतान्त्रिक गणतन्त्र’ यही नाराका साथ फरक शैलीमा मनाउन लागिएको संविधान दिवस– ‘वाकथन’ कार्यक्रममा सहभागी भई राष्ट्रिय दिवस संगसँगै मनाउन एमालेले सबैलाई आह्वान गरेको छ ।
निर्वाचन आयोगले संविधान जारी भएको दिन असोज ३ गते प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची पेश गर्ने मिति तोकेकाले एमालेले यो कार्यक्रम असोज १ गतेलाई तय गरेको हो । २०७२ साल असोज ३ गते संविधान सभाबाट ‘नेपालको संविधान–२०७२’ जारी भएको थियो ।















प्रतिक्रिया