
काठमाडौं, ३१ भदौ । स्वास्थ्य सेवा सुधारको माग गर्दै २० औं पटक अनसन बसिरहेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको गृहनगर धनगढीमा अनसन बसेका डा. केसीको स्वास्थ्यमा समस्या देखिएपछि तेस्रो दिनबाट सेती प्रादेशिक अस्पताल भर्ना गरिएको छ । तर डा केसीले औषधि लिन नमानेका कारण स्वास्थ्य अवस्था बिग्रिदै गएको छ । सेती प्रादेशिक अस्पतालका अनुसार डा. केसीको शरिरमा पोषणतत्व र पानीको मात्रा कम हुँदै जाँदा स्वास्थ्य अवस्था जटिलता बढ्दै गएको हो ।

डा. केसीको शरिरमा पोषणतत्व र पानीको असुन्तलनले बेहोस हुन सक्ने, कम्पन हुन सक्ने (सिजर), रोगसँग लड़न सक्ने क्षमता कम भई विभिन्न संक्रमण हुन सक्ने, मुटुको धड्कन, श्वासप्रश्वास र रक्तचाप गडबढ भई अंग र प्रणालीमा खराबी हुन सक्ने वा ज्यान जोखिममा पर्न सक्ने अस्पतालले जनाएको छ ।
केसीले मुखबाट पानी र नशा वा रिङगर ल्याक्टेट बाहेक कुनै पनि पद्धार्थ लिन अस्विकार गरेको अस्पतालले जनाएको छ ।

डा. केसीका सहयोगी अमृत जैसीले स्वास्थ्य अवस्था बिग्रिदै गएको जानकारी दिए । उनले डा. केसीले औषधि लिन नमानेका कारण स्वास्थ्य अवस्था बिग्रिदै गएको बताए । अनसन बसेको आज ५ औं दिन बित्दा पनि सरकारी पक्षले कुनै पनि औपचारिक वार्ता गरेको छैन् ।















प्रतिक्रिया