शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

नवौँ राष्ट्रिय खेलकुद : खेलकुदमन्त्री र सदस्यसचिवद्वारा खेल पूर्वाधार निरीक्षण

दैनिक नेपाल २०७९ भदौ ३० गते २३:१०

कास्की, ३० भदौ । युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराज र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले आज पोखरा रङ्गशालाभित्रका खेल पूर्वाधारको निरीक्षण गरेका छन् ।

आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा आयोजना गरिएको नवौँ राष्ट्रिय खेलकुदको मुख्य आयोजनास्थल पोखरा रङ्गशालाभित्र रहेका खेल पूर्वाधारका बारेमा उनीहरुले जानकारी लिएका हुन् ।

मन्त्री गहतराजले रङ्गशालाभित्र रहेका अन्तर्राष्ट्रिय फुटबल रङ्गशाला, क्रिकेट मैदान, आर्चरी, टेनिस कोर्ट, बहुउद्देश्यीय कभर्ड हल, ब्याडमिन्टन हललगायतका खेल पूर्वाधारको निरीक्षण गरेका हुन् ।

राष्ट्रिय खेलकुद मूल समारोह समितिका अध्यक्षसमेत रहनुभएका मन्त्री गहतराजले कार्यकारी समितिको सचिवालयको समेत निरीक्षण गरे । नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत अधिकांश खेलका खेलस्थल पोखरा रङ्गशाला तोकिएका छन् । राष्ट्रिय खेलकुदको उद्घाटन तथा समापन समारोह पोखरा रङ्गशालामै हुनेछ । राष्ट्रिय खेलकुदअन्तर्गतका ३६ खेल विधामध्येमा १६ वटा खेल पोखरा रङ्गशालाभित्र तय गरिएको छ ।

सो अवसरमा खेलकुदमन्त्री गहतराजले खेल पूर्वाधार स्तरोन्नति र मर्मतको केही काम बाँकी रहेको भए तदारुकताका साथ अघि बढाउन निर्देशन दिए । प्रतियोगिताको मिति नजिकिएकाले सरोकारवाला निकायले कामको गति बढाउँदै छिटो सम्पन्न गर्न उनले आग्रह गरे ।

राष्ट्रिय गौरवसँग जोडिएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न गर्न सबैले आआफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने बताउँदै उनले सरकारी तथा निजी क्षेत्र मिलेर राष्ट्रिय खेलकुद सफल पारिने स्पष्ट पारे ।

प्रतियोगिताअन्तर्गतका धेरै काम प्रक्रियागतरूपमा अघि बढेको र मूल आयोजक समितिसहितका उपसमितिबाट व्यवस्थित काम भएकाले प्रतियोगिता भव्यरूपमा सम्पन्न गर्न आत्मविश्वास बढेको मन्त्री गहतराजले बताए ।

उनले भने, ‘राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी, प्रशिक्षण, खेलस्थल छनोटलगायतका धेरै काम व्यवस्थितरूपमा अघि बढेका छन् । विगतका कमजोरी सुधारेर प्रतियोगिता भव्य बनाउँछौँ भन्ने आत्मबल बढेको छ ।’

खेलकुदमन्त्रीको उपस्थितिमा आज पोखराबाट राष्ट्रिय खेलकुदअन्तर्गतका ३६ वटै खेलस्थल सार्वजनिक भएपछि यहाँ राष्ट्रिय खेलकुदको सरगर्मी बढेको छ । प्रचारप्रसार उपसमितिले बजार क्षेत्रका विभिन्न स्थानमा प्रचार सामग्री राख्न सुरु गरेको छ ।

नवौँअन्तर्गतका खेल गण्डकीका ११ जिल्लामध्ये सात जिल्लामा हुँदैछन् । मनाङ, मुस्ताङ, लमजुङ र तनहुँ जिल्लाबाहेक अन्यत्र खेलस्थल तय गरिए पनि अधिकांश खेल कास्की र पोखरा रङ्गशालामा सञ्चालन हुने पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीले बताए । रासस

प्रतिक्रिया
सम्बन्धित