४ कार्तिक २०८३, बुधबार

मकवानपुरमा डेंगीको कारण बालकको मृत्यु भएको पुष्टि

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा । मकवानपुरको हेटौंडा अस्पतालमा दुई साता अघि मृत्यु भएको बालकको मृत्यु लामखुट्टेको टोकाइबाट हुने डेंगी संक्रमणको कारण मृत्यु भएको पुष्टि भएको छ ।

बागमती प्रदेशको स्वास्थ्य निर्देशनालयले बाललको मृत्यु डेंगीको कारण भएको पुष्टि गरेको हो ।

उच्च ज्वरोले थला परेपछि बालकलाई उपचारको लागि गएको भदौ ८ गते हेटौंडा अस्पतालमा भर्ना गरिएको थियो । तर बालकको स्वास्थ्य अवस्था गम्भीर बनिसकेको कारण भेल्टिलेटरमा राखेर उपचार सुरु गरिएपनि भदौ ११ गते बालकको मृत्यु भएको हेटौंडा अस्पतालले जनाएको छ ।

बालकमा डेंगी पुष्टि भइसकेको भएपनि लामखुट्टेको टोकाइबाट हुने जापानी इन्सेफलाइटिस संक्रमणको आशंकाले स्वास्थ्य निर्देशनालयले परीक्षणका लागि शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल टेकु काठमाडौं पठाइएको थियो ।

तर बालकमा इन्सेफलाइटिस संक्रमण नभएर डेंगी संक्रमणकै कारण मृत्यु पुष्टि भएको निर्देशनालयले जनाएको छ । पछिल्लो दिनहरुमा मकवानपुरमा डेंगी पुष्टि हुनेको संख्या तीब्र बढेको छ । १ साउन देखि जिल्लामा हालसम्म १ हजार ४५ जनामा डेंगी पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

यसैगरी, जिल्लामा साउन यता जापानी इन्सेफलाइटिस संक्रमणको कारण ३ जनाको मृत्यु भइसकेको छ ।