
हेटौंडा, २६ भदौ । पूर्व उपप्रधानमन्त्री एंव राप्रपा नेपालका अध्यक्ष कमल थापाले सरकारमा रहेका पाँच दलले जनतालाई धोका दिन लागेको आरोप लगाएका छन् ।
शनिबार हेटौंडामा भएको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले विदेशी शक्तीको चलखेलमा बनेको गठबन्धनका प्रमुख नेपाली कांग्रेस,नेकपा माओवादी र मधेशवादी दलहरुसहित पाँच दलले जनतालाई धोका दिन लागेको बताएका हुन् ।
थापाले नजिँकिदै गरेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई लक्षित गर्दै गठबन्धन सरकारका दलहरुले भागबन्डामा निर्वाचन लड्नु भनेको जनतालाई धोका दिने काम भएको टिप्पणी गरे । उनले गठबन्धनको दलहरुलाई किन पार्टी खोलेको भन्दै प्रश्न गरे । ‘ यदि गठबन्धन बनाएर चुनावमा जाने हो भने किन अरु पार्टी खोल्नु भो ? थापाले भने,यो जनतालाई धोका दिने काम हो ।’ थापाले चुनाव जितेपछि सरकार बनाउन गठबन्धन बनाउनु स्वभाविक भएपनि चुनावमै गठबन्धन गर्नु अस्वभाविक र जनतालाई धोका दिने काम भएको स्पष्ट पारे ।
थापाले तत्कालिन केपी ओली सरकारले लिम्पियाधुरासहितको चुच्चे नक्सा ल्याएकै कारण रुष्ट्र भएको विदेशी शक्तिले विचार नमिल्ने दलहरुलाई सत्ताको मोह देखाएर एक ठाउँमा राखेर एमाले सरकार ढालेको समेत बताए । थापाले ओली र एमालेलाई फेरी उठ्न दिन हुँदैन भनेर विदेशी शक्तीले गठबन्धन सरकारलाई कायम राखेर चुनावमा जान चलखेल गरिरहेको समेत दाबी गरे ।
थापाले ओलीको नेतृत्वको सरकारमा आफु परराष्ट्रमन्त्री भएको समयमा भारत तथा संयुक्त राष्ट्रसंघको बैठकमा नाकाबन्दी विरुद्ध कडा रुपमा उभिएको कारण राप्रपालाई समेत बाहिरी शक्तिले तहसनहस गरिदिएको आरोप लगाए । थापाले देशमा विदेश शक्तीको चलखेल बढीरहेको र राष्ट्रियतामाथि खतराको घण्टी बजिरहेको भन्दै राष्ट्रियतालाई ज्युउँदो राख्ने काममा अग्रसर रहन विशेष गरी केपी ओली र एमालेसहित सम्पूर्ण राष्ट्रवादी शक्तिहरुलाई आग्रह गरे ।















प्रतिक्रिया