
सुनसरी, १८ भदौ । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मंसिर ४ गतेको निर्वाचनमा धाँधली भए प्रतिवादमा उत्रिन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।
आज शनिबार सुनसरीको दुहवीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धनको सरकारले प्रहरी प्रशासनको बलमा चुनावमा धाँधली गर्नसक्ने आँकलन गर्दै यस्तो निर्देशन दिएका हुन् ।
उनले यसअघि दुई पटकसम्म नेकपा एमालेले जितेको उक्त क्षेत्र प्रहरी प्रशासन लगाएर, राज्य शक्तिको दुरुपयोग गरेर र बाकस साटेर हार घोषणा गराइएको दाबी समेत गरेका छन् ।
साथै ओलीले प्रहरी प्रशासनका सबै तहका कर्मचारीलाई आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बुथ क्याप्चर गर्ने, अनियमितता गर्ने, जनताको सार्वभौसत्ता सम्पन्न अधिकारमाथि हस्तक्षेप गर्नेको साथ नदिन पनि आग्रह गरेका छन् ।
प्रहरी प्रशासनका कर्मचारी कुनै एक पार्टीको नहुने र उनीहरूले खाने तलब भत्ता पनि कुनै राजनीतिक दलले नदिने हुँदा जनताको अधिकारको पक्षमा लाग्न ओलीले विशेष आग्रह गरेका छन् ।
निर्वाचनमा बाकस साट्ने, बुथ कब्जा गर्ने, अशान्ति मच्याउने, धाधँली गर्ने खालका क्रियाकलापमा प्रहरी प्रशासन, राज्य संयन्त्रका अंग र ती अंगका व्यक्तिहरु संलग्न नहुने विश्वास ओलीको छ ।















प्रतिक्रिया