
काठमाडौं, १७ भदौ । राप्रपा नेपालका अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको सचिवालय बैठकले आसन्न निर्वाचनको निमित्त भदौ २१ गतेभित्र संघ तथा प्रदेशको प्रत्यक्ष र समानुपातिक उम्मेदवारको नामावली सिफारिस गरी केन्द्रमा पठाउन जिल्ला समितिहरुलाई निर्देशन दिएको छ ।
बैठकले आगामि मंसिर ४ गतेको निर्वाचनलाई दृष्टिगत राखी निर्वाचन पूर्व तयारीका सन्दर्भमा समेत विभिन्न निर्णयहरु गरेको छ । साथै महामन्त्री सुशील श्रेष्ठले प्रस्तुत गरेको मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा कार्यक्रमलाई समेत बैठकले पास गरेको छ ।
कार्यक्रम अनुसार मेचीको काकडभिट्टाबाट भदौ ३० गते बिहीबार शुरू हुने मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा महाकालीको वनवासामा पुगी काठमाडौं आएर यात्राको समापन हुनेछ ।
यसैगरी विभिन्न समान विचारधारा भएका राजनीतिक दल, समूह तथा व्यक्तिहरुसँग आवश्यक छलफल, परामर्श र बार्ता गर्ने जिम्मेवारी पार्टीका उपाध्यक्ष एवम् राजनीतिक विभाग प्रमुख दिलनाथ गिरीलाई दिने निर्णय भएको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिएका छन् ।
बैठकमा महामन्त्री भास्कर भद्राद्वारा प्रत्यक्ष र समानुपातिक उम्मेद्वारी, महामन्त्री केशवराज श्रेष्ठद्वारा सञ्चार, प्रवक्ता सुरेश आचार्यद्वारा प्रचारप्रसार र सहमहामन्त्री दमन वस्नेतद्वारा स्रोत परिचालनसम्बन्धी कार्य प्रगती विवरणबारे समेत महत्त्वपूर्ण छलफल भएको बर्तौलाले जानकारी दिए ।















प्रतिक्रिया