
काठमाडौं, १४ भदौ । नेपाल चेम्बर अफ कमर्शले ब्यापार प्रवर्द्धन एवम् लगानीका लागि राजदूतहरूसँग आग्रह गरेको छ ।
काठमाडौंको जमलस्थित चेम्बर भवनमा राजदूतहरूसँग भएको छुट्टाछुट्टै भेटबार्तामा चेम्बरले नेपालमा लगानीका लागि भूमिका निर्वाह गर्न आग्रह गरेको हो ।
दक्षिण कोरियाका लागि नवनियुक्त राजदूत डा ज्योति प्याकु¥याल समक्ष चेम्बर अध्यक्ष राजेन्द्र मल्लले आर्थिक रूपमा समृद्ध कोरियाबाट लगानी प्रवर्द्धन गर्न आग्रह गरे । नेपालमा लगानीसँगै कोरियाको उच्चस्तरीय प्रविधि भित्र्याउनका लागि समेत पहल गर्नुपर्ने अध्यक्ष मल्लको भनाई छ ।
इपीएसमार्फत कोरियामा ७७ हजार नेपाली युवाहरू कार्यरत रहेको भन्दै अध्यक्ष मल्लले नेपालीहरूकै शीप र लगानीलाई प्रवर्द्धन गर्न सकियो भने मुलुकले धेरै फाईदा लिन सक्ने बताए । उनले भने, ‘नेपाल हाउसको अवधारणा अन्र्तगत स्वदेशी उत्पादनहरूको प्रवर्द्धन गर्ने प्रचुर सम्भावना छ । पछिल्लो समय पस्मिना, हस्तकलाका सामाग्री, जडिवुटी, भिरमह लगायतको माग कोरियामा बढ्दो छ, ।’
कोरियाली बहुराष्ट्रिय कम्पनीहरू नेपालमा स्थापनका लागि पहल गर्न पनि अध्यक्ष मल्लले राजदूत डा प्याकुर्यालको ध्यानाकर्षण गराए ।

भेटवार्तामा राजदूत प्याकुर्यालले पनि आफ्नो कार्यकालमा लगानी प्रवर्द्धन र दुईपक्षीय ब्यापार नै पहिलो प्राथमिकता रहेको बताइन् । उनले भनिन्, ‘एसियाको महत्वपूर्ण आर्थिक शक्तिराष्ट्र दक्षिण कोरियाबाट नेपालमा लगानी भित्र्याउन मेरो मुख्य प्राथमिकता रहनेछ । ’
यस्तै, चेम्बर अफ कमर्शका पदाधिकारीले नेपालका लागि स्लोभाकियाका राजदूतसँग पनि चेम्बर भवनमा भेटबार्ता गरेको छ । भेटवार्तामा नेपालमा लगानीको सम्भावना एवम् दुई पक्षीय ब्यापारबारे छलफल भएको छ । अध्यक्ष मल्लले स्लोभाकियामा नेपालको हस्तकलाका सामानहरू कपडा, कार्पेट लगायतको निर्यातमा सहजिकरण गर्न राजदूत रोबर्ट म्याक्सिएनसँग आग्रह गरे ।
सूचना प्रविधि एवम् पर्यटन क्षेत्रमा पनि लगानी गर्न अध्यक्ष मल्लले आग्रह गरे । स्लोभाकियाबाट हाल वार्षिक ५ हजारको हाराहारीमा पर्यटक नेपाल आईरहेको भन्दै यो सङ्ख्या अझै वृद्धि गर्नमा सहयोग गर्न अध्यक्ष मल्लले राजदूत म्याक्सिएनसँग आग्रह गरे ।
जवाफमा राजदूत म्याक्सिएनले नेपालसँग उच्चस्तरीय आर्थिक सम्वन्ध बिस्तार गर्न आफू प्रतिवद्ध रहेको बताए । यसका लागि आफूले सरकारीस्तरमै पहल गरिरहेको राजदूत म्याक्सिएनको भनाई छ ।















प्रतिक्रिया