
एमालेका अध्यक्ष केपी ओलीले आफ्नो पार्टीको केन्द्रीय समितिको बैठकमा बोल्दै देशका सम्पूर्ण देशभक्त, बामपन्थी र प्रगतिशील शक्तिलाई एकताका लागि आह्वान गर्नुभएपछि यसतर्फ नेपालको राजनीतिका सबै तह र तप्काहरूको ध्यानाकर्षण भएको देखिएको छ ।
उहाँले बिगतमा भएको एमाले र माओवादी केन्द्रबीचको असफल एकतालाई स्मरणगर्दै एकता सक्कली हुनुपर्ने पनि बताउनु भएको छ । साथै उहाँले एकताको नाममा अल्मलिने भूलचाहिं एमालेले नगर्ने खुलासा पनि गर्नुभएको छ ।

देशमा आमरूपमा बिरोध हुँदाहुँदै फाष्ट ट्रयाकबाट नागरिकता बिधेयक पारित गराउने प्रयास भइरहेको, आगामी निर्वाचनका सन्दर्भमा पाँचदलीय गठबन्धनको आवरणमा नेपालमा कसैलाई पनि बहुमत ल्याउन नदिने र नेपालको राष्ट्रिय राजनीतिलाई धमिल्याएर विदेशीहरूलाई चलखेल गर्न सजिलो पार्ने प्रयास भएको तथा दलहरूका बीचमा बिचारबिहीन एकताका प्रयासहरू भइरहेको हालको अवस्थामा अध्यक्ष ओलीले गरेको आह्वानले नेपालको खासगरी बाम शक्तिलाई चीर निन्द्राबाट ब्युँझाउने काम गरेको छ ।
यतिबेला माओवादी केन्द्र र एकीकृत समाजवादीका कारण नेपाली काङ्ग्रेससमेत तवाह भएको छ । एकातिर माओवादी केन्द्र लगायतका दलहरूले आफूहरूलाई प्रत्यक्ष निर्वाचन तर्फका १६४ सीटमध्ये १०० भन्दा बढी चाहिने माग गरिरहेका छन् भने अर्कातिर नेपाली काङ्ग्रेसकै डा. शेखर कोइराला समूहले पार्टीका सभापति तथा प्रधानमन्त्रि शेरबहादुर देउवाले आफ्नो पार्टीका लागि १०० भन्दा कम सीटमा सहमति गरेको खण्डमा पार्टीमा बिद्रोह हुने चुनौती दिइसक्नुभएको छ ।
नेपाल समाजवादी पार्टीका अध्यक्षमध्येका एक डा. बाबुराम भट्टराईले आफूहरू पनि सत्ता गठबन्धन भित्रैको शक्ति भएको बताउँदै आगामी निर्वाचनका लागि सीटको काँडफाँडगर्दा आफूहरूलाई पनि समावेश गर्नुपर्ने माग गरेको देखिएको छ भने अर्कोतिर लोसपाले पाँच दलीय सत्ता गठबन्धनभित्रैबाट आफूहरूले पनि सीट पाउनुपर्ने र सरकारमा पनि सहभागी हुन पाउनुपर्ने माग गरिरहेको देखिन्छ । तर, पाँच दलीय गठबन्धनका अन्य घटकहरू अरुलाई गठबन्धनमा प्रवेश दिने पक्षमा देखिएका छैनन् ।
उनीहरूमध्ये माओवादी केन्द्र र एकीकृत समाजवादीले आगामी निर्वाचनपछि पार्टी एकता गर्नेगरी तत्कालका लागि कार्यगत एकता गर्ने तथा एउटै घोषणापत्रबाट निर्वाचन लड्ने भ्रम दिने प्रयास गरिरहेका छन् । स्मरणीय के छ भने उक्त दुई पार्टीका बीचमा पार्टी एकता गर्ने औपचारिक सम्झौता पनि भएको छैन र निर्वाचन आयोगमा निर्वाचन प्रयोजनका लागि अलग, अलग दल दर्ता गरेको अवस्था छ ।
त्यसैगरी माओवादी केन्द्र र एकीकृत समाजवादी मिलेर सीटको बाँडफाँटमा नेपाली काङ्ग्रेसलाई धम्क्याउने काम भएको छभने अर्कातिर डा. भट्टराई र पुष्पकमल लाहाल ‘प्रचण्ड’ मिलेर एकीकृत समाजवादीलाई साइजमा ल्याउने प्रयास पनि भइरहेको छ । यसरी पाँच दलीय सत्ता गठबन्धन, त्यसभित्रको माओवादी केन्द्र र एकीकृत समाजवादीको उप गठबन्धन र दाहाल, डा. भट्टराई र बामदेव गौतम लगायतको सह गठबन्धनले गर्दा गठबन्धन भित्रै भाँडभैलो सिर्जना हुने अवस्था देखिएको छ ।
गठबन्धन पक्षका घटकहरूको मागअनुसार सीट बाँडफाँट हुने हो भने आगामी निर्वाचनमा नेपाली काङ्ग्रेसले ३१ सीटमात्र पाउने सम्भावना देखिएको छ । यता क्रान्तिकारी माओवादीको केन्द्रीय समितिको बैठक चलिरहेको छ । जहाँ आगामी निर्वाचनलाई उपयोग गर्नुपर्छ भन्नेको सङ्ख्या बढ्दै गएको छ । सो पार्टीले निर्वाचन आयोगमा आफ्नो सहपार्टी देशभक्त जनगणतान्त्रिक मोर्चालाई निर्वाचन प्रयोजनका लागि दर्ता गरिसकेको छ भने नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले निर्वाचनमा जान पनि सकिनेगरी केन्द्रीय समितिबाट निर्णय गराएको छ । तत्कालीन एमाले नेतृत्वको सरकारले सो पार्टीमाथि लागेको प्रतिबन्ध हटाउनाका साथै तीन बुँदे सहमति गरेको थियो । जसको कार्यान्वयन गर्न÷गराउन बर्तमान सरकारमा रहेकाहरूले आलटाल गरिरहेका छन् ।
वर्तमान सरकारमा रहेकामध्ये नेपाली काङ्ग्रेस सो पार्टीलाई आगामी निर्वाचनमा सहभागी गराउने पक्षमा छभने माओवादी केन्द्र सकेसम्म सो समूह निर्वाचनमा सहभागी नभैदिए हुन्थ्योभन्ने पक्षमा रहेको देखिएको छ । किनकी दुबैको प्रभाव क्षेत्र भनेको पश्चिम र सुदूर पश्चिमनै हो । चन्द समूहले एमालेसँग वार्ता जारी राखेको छ भने माओवादी केन्द्रसँगको वार्ताको ढोका बन्द भइसकेको अवस्था छ । यसैबीचमा सो समूहका नेताहरूका बिरुद्ध पक्राउ पूर्जी जारी भएपछि पाँच दलीय गठबन्धनको बिरोध बढेको छ ।
यसैबीचमा सो पार्टीका प्रवक्ता खड्गबहादुर बिश्वकर्मा अकस्मात छिमेकी चीनको भ्रमणमा जानुभएको छ । जसको खास धेय नेपाल सरकारप्रति तीनबुँदे सहमति कार्यान्वयन गराउन दबाव बढाउनु र नेपालका देशभक्त बामपन्थी र प्रगतिशील शक्तिकाबीचमा एकताको वातावरण बनाउनु नै हो । यतिबेला क्रान्तिकारी माओवादी केन्द्रसँग अन्य पाँचवटा र नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँग अन्य तीनवटा कम्युनिष्ट पार्टी कार्यगत एकतामा रहेका छन् ।
यतिबेलाको अवस्थामा क्रान्तिकारी माओवादी र चन्द नेतृत्वको नेकपालाई समेट्नु भनेको १० वटा बाम समूहहरूलाई समेट्नु हो । माओवादी केन्द्रले जसरी ओली बाहेककालाई समेट्ने कुरा गरेको छ । त्यसैगरी एमालेले पनि पुष्पकमल दाहाल बाहेककालाई समेट्ने नारा दिन र वयवहारिक रूपमानै समेट्न सक्ने अवस्था रहेको छ । तुलनात्मक रूपमा नेमकिपा र नेकपा माले माओवादी केन्द्र भन्दा एमालेको निकट रहेका छन् भने निर्वाचन आयोगमा दर्तामा रहेको क्रियाशील पार्टी लोकनारायण सुवेदी नेतृत्वको नेकपा पनि माओवादी केन्द्र भन्दा एमालेकै निकट देखिएको छ ।
त्यसैगरी गैह्रबामपन्थी राप्रपा र राप्रपा नेपाललगायतको आकर्षण पनि एमालेतिरै बढी देखिएको छ । एमालेले यतिबेलासम्म घोषितरूपमा गठबन्धन नबनाए पनि बिभिन्न पार्टीलाई आफ्नो सूर्य चिह्न प्रयोग गरेर निर्वाचन लड्ने अनुमति दिँदै आएको छ । जसले निर्वाचन प्रयोजनका लागि आयोगमा पार्टी दर्ता नगरेकाहरूलाई पनि अवसर प्राप्त हुने अवस्था देखिएको छ । एमालेका अध्यक्ष ओलीले सार्बजनिक रूपमा देशभक्त बामपन्थी र प्रगतिशील शक्तिलाई एकताका लागि जुन आह्वान गर्नुभएको छ, साथसाथै उनीहरूलाई गोलबन्द गर्न प्रयास गर्ने हो भने आगामी हप्तासम्ममा धेरै दलहरू एमाले निकट आउनसक्ने सम्भावना छ ।
नागरिकता बिधेयक र लिम्पियाधुरा लिपुलेक समेटिएको नक्सा लगायतका कुराहरूले एमालेको राष्ट्रवादी छवी बनेको छ भने पाँच दलीय गठबन्धनको त्यस विपरीतको छवी बनेको छ । त्यसैले पनि यतिबेला पाँच दलीय गठबन्धनमा रहेका बाहेकका घटकहरूलाई एमालेले समेट्न सक्ने सम्भावना देखापरेको छ ।
एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टी चलाउन नसक्ने हुनुभएको छ । जुन पार्टी माओवादी केन्द्रमा बिलय हुने कुराहरू सार्वजनिक भइसकेका छन् । त्यस्तै अवस्था डा. भट्टराई र बामदेवको पनि छ । ति पार्टी माओवादी केन्द्रमा एकीकृत हुने हल्लाले मात्र पनि कतिपय नेता तथा कार्यकर्ताहरू एमाले लगायतका अन्य पार्टीमा प्रवेश गर्न लागेका छन् । पहिलो त नेतृत्वका कारण माओवादी केन्द्रसँग एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र बामदेव समूह एकीकृत हुने सम्भावना कम छ ।
कथंकदाचित पार्टी एकता भैहालेछ भने पनि त्यसले खासै अर्थ राख्ने देखिँदैन । हालको अवस्थामा माओवादी केन्द्रले नेपाली काङ्ग्रेससँगको सहकार्यको अन्त्य गरेर बृहत् बाम एकताको पक्षमा आफूलाई उभ्याउने हो भने नेपालको राष्ट्रिय राजनीतिको स्वरूपनै नयाँ बन्न सक्ने अवस्था छ । बाम पार्टी हुनुको नाताले माओवादी केन्द्रले गर्नुपर्ने पनि त्यही नै हो । पाँचवटा घटकले आगामी निर्वाचनको सीट बाँडफाँट गरेर एमालेसँग निर्वाचन लड्नु आफै कुहिनाले पहरासँग लड्नुजस्तै हुने देखिएको छ ।
गत स्थानीय निर्वाचनमा पनि मत प्रतिशतका आधारमा पहिलो पार्टी बनेको एमालेको अवस्था र सो पार्टीका अध्यक्ष ओलीको ‘चट्टानी अडान’ गतिबेला सबैका लागि चर्चाको बिषय बनेको छ । त्यसमाथि पनि अध्यक्ष ओलीले पछिल्लो समयमा गर्नुभएको देशभक्त बामपन्थी र प्रगतिशील शक्तिबीचको एकताको आह्वानले विशेष महत्व राखेको छ । यो अवस्थामा माओवादी केन्द्रले समेत आफ्नो सोच र संलग्नतालाई बदल्नु र एमालेसहितको बृहत् बाम एकताको निर्माण गर्नु बढी उपयुक्त हुने देखिएको छ ।















प्रतिक्रिया