
काठमाडौं, ११ भदौ । नेपाल विद्यालय कर्मचारी परिषद्ले पूर्ण सेवा सुविधा तत्काल लागू गर्नुपर्ने माग गरेको छ ।
परिषद्ले विद्यालय कर्मचारी सहायक (लेखापाल) हरूका लागि ३४ हजार ७३० रूपैयाँमा २ हजार थपेर ३६ हजार ७३० रूपैयाँ र विद्यालय सहयोगीहरूका लागि २४ हजार २१० रूपैयाँमा २ हजार थप गरी २६ हजार २१० रूपैयाँ कायम गर्नुपर्ने माग गरेको छ ।
परिषद्ले संघीय शिक्षा ऐन शिक्षा ऐन, २०२८ को संशोधनमा सामूदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरूलाई दरबन्दीमा समायोजन गरी एक पटकका लागि प्रक्रिया पुर्याई स्वतः स्थायी प्रक्रियामा लगिनुपर्ने पनि माग गरेको छ ।
यस्तै, संघीय शिक्षा ऐन जारी हुँदाका बखतसम्म अविछिन्न सेवामा कार्यरत विद्यालय कर्मचारीहरूलाई एक पटकका लागि उमेर हद नलाग्ने प्रवन्धन गर्नुपर्ने, ६० वर्ष उमेर पुगेका विद्यालय कर्मचारीहरूलाई प्रचलति कानूनबमोजिम शिक्षकसरहको सेवा सुविधा उपलब्ध गराई उमेर हद नलाग्ने व्यवस्था गर्नुपर्ने, विद्यालय कर्मचारीहरूलाई उच्च शिक्षा अध्ययनका लागि अध्ययन विदा, सन्नति वृत्ति आदिको प्रबन्ध गरिनुपर्ने र विभिन्न समयमा गरिएका सहमति, सम्झौता तथा पटक पटक सर्वोच्च अदालतबाट दिइएको निर्देशन कार्यान्वयनमा ल्याउनुुपर्ने पनि परिषद्का माग छन् ।
आर्थिक वर्ष २०७८/०७९ को बजेट वक्तव्यमा न्यूनतम पारिश्रमिक उपलब्ध गराउने बजेट वक्तव्यले विद्यालय कर्मचारीहरूमध्येका विद्यालय सहायक लेखापालहरूलाई मानमर्दन हुने खालको गतिविधि भएको परिषद्को आरोप छ ।
परिषद्ले माग पूरा गराउनका लागि मुलुकभरिका सम्पूर्ण शिक्षक, संघ तथा संगठनहरू, विद्यालय व्यवस्थापन समिति, अभिभावक, विद्यार्थी, शिक्षक, बुद्धिजिवी, शिक्षाप्रेमी, समाजसेवी, जनप्रतिनिधिका साथै सबैलाई काठमाडौं जाऔं आन्दोलनमा सफल पार्न अपिल गरेको छ ।
साथै, आफूहरूको आन्दोलनको अभिभावकत्व ग्रहण गरिदिनका लागि अपिल समेत गरेको छ ।















प्रतिक्रिया