
काठमाडौं, १० भदौ । छायाँछवि क्रियशनको प्रस्तुतिमा नवौं छायाँछवि तीज म्युजिक अवार्ड–०७९ सम्पन्न भएको छ ।
आज शुक्रबार काठमाडौंमा सम्पन्न भएको कार्यक्रममा गीतसंगीत क्षेत्रमा सक्रिय व्यक्तित्वहरुको उत्साहजनक सहभागिता थियो ।
विषेश गरी हिन्दु नारीहरुको महान पर्वका रुपमा परापूर्व कालदेखिनै हर्षोउल्लासका साथ मनाउँदै आएको हरितालिका तीजको पूर्वसन्ध्यामा कला क्षेत्रमा लागेका स्रष्टा तथा सर्जकहरुलाई थप हौसला प्रदान गर्दै एक आपसमा माया एवम् सद्भाव फैलाउने उद्देश्यका साथ विगत नौं वर्षदेखि निरन्तर रुपमा छायाँछवि तीज म्युजिक अवार्डको आयोजना हुँदै आइरहेको छ ।
कलाकारिताका माध्यमबाट हाम्रो मौलिक संस्कृतिको जगेर्नाका निम्ति योगदान पुर्याने स्रष्टा एवम् सर्जकहरुलाई सम्मानस्वरुप दर खुवाउनाका साथै सांस्कृतिक प्रस्तुतिसहित तीज अवार्डको समापन हुँदै आएको छ ।
मौलिक सांस्कृतिक पर्व तीजलाई मनोरञ्जनको भन्दा पनि संस्कृतिको सम्बर्द्धन एवम् प्रवर्द्धनमा यस अवार्डले जोड दिदै आएको छाँयाछवि तीज म्युजिक अवार्डका अध्यक्ष शान्तिप्रियले बताए ।
कार्यक्रममा वरिष्ठ चलचित्रकर्मी मोहन निरौला, निर्माता तथा वितरक प्रदिप कुमार उदय, गोपाल काजी कायस्थ, निर्देशक नवल नेपाल, नायक गजित विष्ट, लेखक/निर्देशक ओम प्रतिक, सञ्चारकर्मी जयन सुब्बा मानन्धर, नायिका ममता प्रधान, सञ्चारकर्मी एवम् गीतकार डब्बु क्षेत्री, प्राज्ञ एवम् संगीतकार ज्योति प्रकाश, सञ्चारकर्मी सूर्य चन्द, चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, चलचित्र निर्देशक माधव राज खरेल, अभिनेता मोडल सागर घिसिङ, अभिनेता श्रीदेव भट्टराई, नायिका सरिता भारती लगायतका व्यक्तित्वहरुको सहभागीता रहेको थियो ।
सो अवसरमा छायँछवि तीजको कार्यक्रममा नियमित रुपमा प्रदान गर्दै आएको छायाँछवि तीज रंगपत्रकारिता पुरस्कारबाट पत्रकार दीपज्योति थापालाई पुरस्कृत गरिएको थियो । थापालाई नगद रू. ५, ५५५ सहित प्रमाणपत्र एवम् दोसल्लाले सम्मान गरिएको थियो ।
त्यस्तै छायाँछवि तीज नारी सम्मानबाट खेलाडी तथा कलाकार नन्दा बस्याल, गीतकार सामना शाह सम्मानित भएका थिए भने सामाजिक सेवा सम्मानबाट समाजसेवी लक्ष्मण मल्ल र नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका अध्यक्ष रामकृष्ण श्रेष्ठलाई सम्मान प्रदान गरिएको थियो । सञ्चारकर्मी सुष्मा श्रेष्ठले कार्यक्रम संचालन गरेकी थिइन् ।















प्रतिक्रिया