
काठमाडौं, ९ भदौ । नेकपा (एमाले) का प्रभावशाली नेता शेरबहादुर तामाङले आगामी मंसिर ४ गते हुने निर्वाचनमा आफ्नो पार्टीले एक्लै बहुमत ल्याउने दाबी गरेका छन् ।
उनले सबै दल मिलेर आए पनि एमाले एक्लै चुनाव लड्न तयार रहेको भन्दै बहुमत ल्याउने दाबी गरेका हुन् । देशव्यापी रूपमा पार्टी पङ्क्तिबाट आएको रिपोर्टबाट आफूहरू चुनावको लागि उत्साही रहेको उनको भनाइ छ ।
‘हामी १५ गतेभित्र देशैभरिबाट घोषणापत्रलाई आवश्यक सुझाव सङ्कलन गरिसक्छौं । त्यसपछि घोषणापत्र तयार गर्छौं । अहिले हाम्रा बैठक निर्वाचनकेन्द्रित छन् । भोलिबाट बस्ने केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पारित गर्दैछौं,’ उनले भने, ‘मंसिर ४ गतेको निर्वाचनका लागि हामी उत्साही छौं ।’
बाहिर गठबनधनले चुनाव जित्छ भन्ने समाचार आइरहेको बेला, स्थायी कमिटी बैठकमार्फत हाम्रा प्रदेश इञ्चार्जहरूबाट आएको रिपोर्टबाट एमाले उत्साही भएको उनको भनाइ छ । ‘अहिले पनि एमालेसँग एक्लै चुनाव लड्ने आँट कसैसँग पनि छैन् । एमालेसँग एक्लै लड्न सकिँदैन भनेर पाँच वटा दल मिले । गठबन्धनसँग एमाले एक्लै चुनाव लड्दा पनि हामी बहुमत लिएर आउँछौं । यो हाम्रो रिपोर्टिङले देखाएको छ । अहिले हामी बहुमत ल्याउनेतर्फ अघि बढेका छौं । हामीले एक्लै निर्वाचन जित्ने तयारी गर्छौं,’ तामाङले भने ।















प्रतिक्रिया