४ कार्तिक २०८३, बुधबार

पत्रकार सिंखडालाई आक्रमण गर्ने लामिछानेसहित चार जना आठ दिनदेखि फरार

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, ८ भदौ । पत्रकार शिशिर सिंखडालाई आक्रमण गर्ने कालिका नगरपालिकाका पूर्वमेयर खुमनारायण श्रेष्ठ (गोपी) का पीए दिपक लामिछानेसहित चारैजना आठ दिनदेखि फरार रहेका छन ।

चितवन प्रहरीले खोजी कार्य जारी रहेको बताए पनि उनीहरू अझै पक्राउ पर्न सकेका छैनन् । पूर्वमेयर श्रेष्ठका पीए कालिका–६, खोलेसिमलका लामिछानेसहित उनका भाइ दीलिप लामिछाने तथा कालिका–५, पदमपुरका समीर सापकोटा तथा रत्ननगर–५, झुवानी, टरौलीका निकेश नेपाल फरार रहेका हुन । सापकोटा तथा नेपाल लामिछानेका भाञ्जा हुन् ।

उनीहरू चारै जनाले बिहान आवतजावत गर्ने बाटोमा कुरेर सांघातिक आक्रमण गरेका थिए । उनीहरूलाई घटना भएको अघिल्लो राति ९ बजे पूर्वमेयर श्रेष्ठले बोलाई उनको शक्तिखोर–९ स्थित घरमा बसी आक्रमण गर्ने योजना बनाएको पाइएको छ ।

गत साउन ३१ गते ‘कालिका नगरपालिकाका निवर्तमान मेयर श्रेष्ठ र पीए लामिछानेविरुद्ध २५ करोड भन्दा बढी भ्रष्टाचार गरेको आरोपमा पुनः अख्तियारमा उजुरी’ शीर्षकमा काठमाडौं र चितवनमा रहेका दर्जन भन्दा बढी सञ्चार माध्यममा एकसाथ समाचार प्रकाशित भएका थिए । सोही समाचार चितवनको कालिका दैनिक अनलाइनले पनि श्रोत उल्लेख गरी प्रकाशित गरेको थियोे । सो समाचार लेखेको भन्दै लामिछानेसहित चार जनाले पत्रकार सिंखडालाई ज्यान मार्ने धम्की दिई साङ्घातिक आक्रमण गरेका थिए ।

तत्कालीन मेयर श्रेष्ठ र लामिछानेविरुद्ध यसअघि पनि करोडौं रूपैयाँ भ्रष्टाचारको आरोपमा उजुरी परेको समाचार सार्वजनिक भएको थियो । यसैबीच घटनामा संलग्न रहेका चार जनाविरुद्ध पत्रकार सिंखडाले भदौ १ गते बुधबार नै जिल्ला प्रहरी कार्यालय चितवनमा किटानी मुद्दा दायर गरिसकेका छन् ।

नेपाल पत्रकार महासंघ चितवनलगायत पत्रकारसम्बद्ध संघ–संगठनको रोहवरमा पत्रकार सिंखडाले लामिछानेसहित उनका भाइ दीलिप लामिछाने र भान्जाहरू समिर सापकोटा तथा निकेश नेपालविरुद्ध किटानी मुद्दा दायर गरेका हुन ।

पत्रकार सिंखडा नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको रेडियो टेलिभिजन समन्वय विभागका सदस्य, नेपाल पत्रकार महासंघ चितवनका सदस्य, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य एवम् बागमती प्रदेश सह–इन्चार्ज, रेडियो नेपालका चितवन समाचारदाता तथा कालिका दैनिक अनलाइनका प्रधान सम्पादक हुन् ।