४ कार्तिक २०८३, बुधबार

प्रशिक्षणले जनप्रतिनिधिको क्षमता अभिवृद्धि गरेको छ : अधिकृत अधिकारी

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तनहुँ, ७ भदौ । म्याग्दे गाँउपालिकाका प्रमुख प्रशाशकीय अधिकृत नारायण प्रसाद अधिकारीले गाँउपालिकाका नवनिर्वाचित जनप्रतिनिधि र कर्मचारीहरूका लागि सञ्चालन गरिएको दुईदिने योजना तर्जुमा प्रक्रिया तथा प्रभावकारी सेवा प्रवाह विषयक प्रशिक्षण कार्यक्रमले जनप्रतिनिधिहरूको क्षमता अभिवृद्धि हुने बताएका छन् ।

गाँउपालिकाको आयोजना र स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको समन्वयमा भएको सो अभिमुखीकरण कार्यक्रममा प्रमुख प्रशाशकीय अधिकृत अधिकारीले सो कुरा बताएका हुन् ।

जनप्रतिनिधिहरू जनताका आम समस्यासँग केन्द्रित हुनुपर्ने तर कानुर र विषयको ज्ञान नहुँदा कार्यसम्पादनमा समस्या परिरहेको बताउँदै उनले कानुनको अज्ञानताले जनताको सानो–सानो समस्या पनि समाधान गर्न नसकिएको जानकारी दिए । समस्या समाधान गर्न नसक्दा जनप्रतिनिधिप्रति सेवाग्राहीको गुनासो बढिरहेको उनको भनाइ छ ।

अभिमुखीकरण तालिमले जनप्रतिनिधिलाई योजना प्रक्रिया, तर्जुमा र कार्यन्वयनका लागि सहयोग गर्ने उनको विश्वास छ ।

दुईदिने प्रशिक्षण कार्यक्रममा जनप्रतिनिधिहरूलाई अभिमुखीकरण तालिमका लागि स्थानीय विकास प्रतिष्ठानका उपनिर्देशक हरिकृष्ण कोईराला, व्यवस्थापक अधिकृत उदयनाथ खनाल लगायतले स्थानीय सरकार सञ्चालन कार्यविधिसम्बन्धी प्रशिक्षण दिएका छन् ।

म्याग्दे गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले उद्घाटन गरेको सो प्रशिक्षण कार्यक्रममा उनले अभिमुखीकरण फलदायी भएको बताए । ‘स्थानीय सरकारको अधिकार, यसको क्षेत्राधिकार र कार्यदेश अभिमुखीकरण तालिमबाट प्रष्ट भएको छ । अब यसको सफल कार्यान्वयन नै हाम्रो मार्गचित्र बन्नेछ,’ उनले भने ।

यसैगरि म्याग्दे गाँउपालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरेले नयाँ जनप्रतिनिधिलाई तालिमले सहजता थपेको बताए । ‘अन्योलतामा रहेका जनप्रतिनिधिका लागि यो कार्यक्रमले नयाँ ऊर्जा थपेको छ । शासन सञ्चालनको अवगत नहुदाँ अन्यौलता थपेको विद्यमान अवस्थालाई दृष्टिगत गरी सिकाइलाई व्यावहारिक कार्यान्वयनमा लैजानुपर्दछ,’ घिमिरेले भने ।

कार्यक्रममा स्थानीय तहको योजना तर्जुमा, मध्यमकालीन खर्च संरचना, सकारत्मक सोच र स्थानीय तहमा सुशासन प्रवर्द्धन, स्थानीय तहको असल अभ्यास, संघ, प्रदेश र स्थानीय तहको अन्तरसम्बन्ध, स्थानीय तहको राजश्व अधिकार तथा अन्तरसरकारी वित्तीय हस्तान्तरण, सार्वजनिक खरीद, बस्ती विकास योजनालगायत विषयमा प्रशिक्षार्थीहरूलाई प्रशिक्षण दिइएको थियो ।

गाँउपालिकाका अधिकृत श्रीराम खनालले सञ्चालन गरेको सो कार्यक्रममा नयाँ जनप्रतिनिधि र कर्मचारीहरूको सहभागिता रहेको थियो ।