४ कार्तिक २०८३, बुधबार

एमाले अध्यक्ष ओलीले दिए सरकारले ल्याएको विधेयक च्यात्ने चेतावनी

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिपक्षी दलसँग सरसल्लाह नगरी ल्याइएका महत्वपूर्ण र दूरगामी प्रभाव राख्ने विधेयकहरू च्यातिने चेतावनी दिएका छन् ।

खासगरी संक्रमणकालीन न्यायसम्बन्धीको विधेयकप्रति आपत्ति प्रकट गर्दै ओलीले सरकारलाई सो चेतावनी दिएका हुन् । मन्त्रीहरू हिरो हुने चक्करमा पीडितहरुमाथि भएको दमन एमालेलाई सह्य नभएको उल्लेख गर्दै ओलीले कानूनमन्त्री गोविन्द बन्दीको चर्को आलोचना समेत गरेका छन् ।

आज सोमबार सिन्धुपाल्चोकमा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारले सम्हालिएर व्यवहार नगरे परिणाम राम्रो नहुने चेतावनी पनि दिएका छन् ।

‘एउटा चटके मन्त्री ६ महिनाका लागि आएर हिरो हुनका लागि कसैले नगरेको मैले सकेँ भनेर पीडितहरुमाथि बलजफ्ती गरिरहेका छन्,’ ओलीले भने, ‘मनपरी ढङ्गले विधेयक ल्याएको छ । बहुमत छ भनेर पास गर्न खोजेको छ । त्यस्ता विधेयकहरु च्यातेर फालिन्छ, सरकारले सम्हालिएर काम गरोस् ।’

संसदमा रहेको सबैभन्दा ठूलो दल प्रतिपक्षमा रहेको स्मरण गराउँदै उनले महत्वपूर्ण र दूरगामी प्रभाव राख्ने विधेयकहरूबारे प्रमुख प्रतिपक्षी दलसँग छलफल गरिनुपर्नेमा जोड दिएका छन् । उनले स्वेच्छाचारी ढंगले कानून संशोधन गर्न खोजेको आरोप सरकारलाई लगाएका छन् ।