
काठमाडौं, ६ भदौ । सर्लाही–३ बाट प्रतिनिधिसभा सदस्यका लागि पञ्च बहादुर सिंतानले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् ।
आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सिंतानले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन् ।
आफ्नो उम्मेदवारी घोषणा गर्दै उनले आफू कार्यकारी राजाको पक्षमा भएको समेत बताएका छन् । तर, राजाको अधिकार क्षेत्र भने तोकिनुपर्ने उनको भनाई छ । उनले हिन्दूराष्ट्र वा धर्मनिरपेक्षता के चाहेको हो भनेर यसबारे जनमत सङ्ग्रह गरेर फैसला लिइनुपर्नेमा जोड दिएका छन् ।
उनले जनताको शिक्षा, स्वास्थ्य र रोजगारीको सुनिश्चित्ता गर्न आफूले उम्मेदवारी दिन लागेको स्पष्ट पारे । कृषिलाई आधुनिकीकरण गर्नुपर्ने आफ्नो प्रमुख लक्ष्य रहेको उल्लेख गर्दै भने, ‘बजारको उचित व्यवस्थापन गर्ने र किसानलाई चाहिने बीऊ, मल–खाद, सिंचाइजस्ता अधारभूत आवश्यकत्ता तथा कृषि औजारका सामग्रीहरु स्थानीयस्तरमा उत्पादनका साथै समय सिमाभित्र उपलब्ध गराई किसानलाई आत्मनिर्भर बनाउन पहल गर्नेछु ।’
नेपाली नागरिकलाई कुनै पनि हालतमा नगरिकताबाट वञ्चित गर्न नहुने उनको भनाई छ । उनले अन्य राष्ट्रबाट आएर बसोबास गर्नेहरूको हकमा भने नियमानुसार नागरिकता प्रदान गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।















प्रतिक्रिया