४ कार्तिक २०८३, बुधबार

सांसद गिरिको निधनप्रति संसदको दुवै सदनद्वारा शोक प्रस्ताव पारित

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ भदौ । नेपाली काङ्ग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको निधनप्रति प्रतिनिधिसभा र राष्ट्रियसभाले छुट्टाछुट्टै शोक प्रस्ताव पारित गरेका छन् ।

आज सोमबार बसेको प्रतिनिधिसभा बैठकले सांसद गिरिको निधनप्रति शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो । यस्तै सोमबारै बसेको राष्ट्रियसभा बैठकले पनि सांसद गिरिको निधनप्रति शोक प्रस्ताव पारित गरेको हो ।

२०५१ को संसदीय चुनावमा सिरहा–५ बाट निर्वाचित भएका गिरि २०६२/०६३ को जनआन्दोलनपछिको पुनर्स्थापित प्रतिनिधिसभा सदस्य, २०६४ र २०७४ को संविधानसभा सदस्य र २०७४ मा सिरहा–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।

घाँटीको क्यान्सर र निमोनियाबाट पीडित ७४ वर्षीय गिरिको गत शनिबार राति ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । स्वर्गीय गिरिको आइतबार राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

शोक प्रस्ताव पारित गरेर दुवै सदनको बैठक आजका लागि स्थगित भएको छ । अब प्रतिनिधिसभाको अर्को बैठक भोलि मंगलबार बिहान १० बजे र राष्ट्रिय सभाको अर्को बैठक आगामी आइतबार (भदौ १२ गते) दिउँसो १ बजे बस्ने छ ।