
काठमाडौं, ५ भदौ । समाचार प्रकाशनपछि आएको विभिन्न धम्कीका कारण न्यूज अभियान अनलाइनका सम्पादक छायाँचन्द्र भण्डारी केही दिनयता बेखबर भएका छन् ।
समाचार लेखेकै कारण आएको ज्यान मार्ने धम्कीका कारण पत्रकार अधिकारी परिवारको समेत सम्पर्कबाहिर रहेको भन्दै नेपाल पत्रकार महासंघले आइतबार विज्ञप्ति जारी घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
महासंघका सचिव गोविन्द्र प्रसाद चौंलागाइँले विज्ञप्ति जारी गर्दै समाचारमा चित्त नबुझे कानूनी उपचार खोज्ने निकाय प्रेस काउन्सिल हुँदाहुँदै पत्रकारमाथि धम्की दिइनु गम्भीर आपत्तिको विषय भएको बताएका छन् ।
‘न्यूज अभियान डटकम अनलाइनका सम्पादक छायाँचन्द्र भण्डारी समाचार लेखेकै कारण अहिले परिवारसमेतको सम्पर्कमा नरही लुकिछिपी बस्न परेको जानकारी उहाँ आवद्ध पत्रकार महासंघको काठमाडौं शाखाले जानकारी गराएको छ,’ महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कुनै पनि समाचारका विषयमा चित्त नबुझे कानुनी उपचारको बाटो रहेको छ । समाचारमा प्रकाशित विषय आचारसंहिताको परिधिभित्र छ/छैन भनी अनुगमन गर्ने निकाय प्रेस काउन्सिल नेपाल हो । काउन्सिलले त्यस्ता सामग्रीमाथिको उजुरी लिने र सुनवाइ समेत गर्ने गर्दछ ।’
कानूनी प्रक्रियालाई अवज्ञा गर्दै प्रेस काउन्सिलको दायरामा पर्ने कुरामा समेत प्रवेश गरी पत्रकारलाई आतंकित पार्ने र सम्पर्कविहीन भई बस्नुपर्ने अवस्था सृजना गर्ने काम निन्दनीय रहेको विज्ञप्तिमा उल्लेख छ । पत्रकार भण्डारीलाई सहज रूपमा पत्रकारिता गर्ने वातावरण निर्माण गर्न महासंघले जोडदार माग समेत गरेको छ ।
न्यूजअभियान डटकम अनलाइनमा प्रकाशित समाचारको विषयलाई लिएर पत्रकार भण्डारीमाथि दरबारमार्ग वृत्तका एक प्रहरी अधिकारीबाट गोली हान्ने धम्की आएको सम्बन्धित अनलाइने प्रकाशित गरेको समाचारमा उल्लेख छ ।
भण्डारीले सञ्चालन गर्दै आएको अनलाइन ‘न्यूजअभियान डटकम’मा गत साउन २९ गते आइतबार ‘पद बचाइदिनेको सिफारिसमा आइजीपी सिंहले दिए चुडाललाई दरबारमार्ग बृत्तको जिम्मा’ शीर्षकमा समाचार प्रकाशित भएको थियो ।
उक्त समाचारमा उल्लेख भएका विषयवस्तुमाथि असहमति जनाउँदै प्रहरीको दरबार मार्ग बृत्तकी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) कोपिला चुडालले ज्यान मार्ने धम्की दिएको भण्डारीकी श्रीमती टुकामाया भण्डारीले जानकारी दिएकी छिन् ।
आफ्नो श्रीमान्लाई ज्यान मार्ने धम्की दिएको भन्दै टुकामायाले राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी समेत दिएकी छिन् ।
पत्रकार भण्डारी नेपाली काङ्ग्रेससम्बद्ध पत्रकारहरूको सङ्गठन नेपाल प्रेस युनियनका सचिव समेत हुन् ।
















प्रतिक्रिया