
काठमाडौं, ४ भदौ । नेकपा एमालेका नेता एवम् पूर्व गृहमन्त्री डा. भीम रावलले माधव नेपालको साथ छोड्दा कम्तीमा वर्तमान गठबन्धनले गरेका कैयन कुकृत्यहरूको साक्षी बस्नबाट आफूहरू जोगिएको बताएका छन् ।
वर्तमान सत्ता गठबन्धनले प्राकृतिक स्रोत विदेशीलाई बुझाएको, नेपाललाई देशी–विदेशीको सैनिक अड्डा बनाएको, विदेशीलाई नागरिकता खोलेको, संविधान मिचेको तथा भागबण्डा र सिद्धान्तहीन तालमेल गरेकोलगायत कामको साक्षी कम्तीमा १० बुँदेका समर्थकहरूले बस्न नपरेको रावलको भनाइ छ ।
तत्कालीन समयमा केपी शर्मा ओली र माधव कुमार नेपालले बनाएको कार्यदल र त्यसले तयार गरेको १० बुँदे सहमतिमा आफूहरू अडिग नभएको भए यावत कुकृत्यले भइरहेको देशको हरिबिजोग टुलुटुलु हेर्नुपर्ने रहेछ भन्दै उनले माधव नेपाललाई कडा जवाफ फर्काएका छन् ।
‘नेताद्वय केपी र माधवद्वारा निर्मित कार्यदलबाट तयार तथा ती नेता सहमत १० बुँदामा नअडेको भए गठबन्धनले प्राकृतिक स्रोत विदेशीलाई बुझाउने, देश विदेशीको सैनिक अड्डा बनाउने, विदेशीलाई नागरिकता खोल्ने, संविधान मिच्ने, भागबण्डा र सिद्धान्तहीन तालमेलले देशको हरिबिजोग टुलुटुलु हेर्नुपर्ने रहेछ,’ उनले भनेका छन् ।
नेकपा एमालेबाट चोइटिएर गठन भएको पार्टी नेकपा एसका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले शनिबार एमालेमै रहेका १० भाइ नेताहरूको हरिबिजोग भइरहेको टिप्पणी गरेका थिए । अहिले एमालेमा रहेका नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई तथा अष्टलक्ष्मी शाक्यलगायतलाई लक्षित गर्दै उनले उक्त अभिव्यक्ति दिएका थिए ।
अध्यक्ष नेपालले केपी ओलीले संसद बिघटन गरेको घटना सहेर बस्न नसक्ने अवस्थामा नयाँ पार्टी बनाउने विकल्प रोजेको भन्दै उक्त कार्यमा नसघाउने ती नेताहरूप्रति कडा टिप्पणी गरेका थिए ।
नेकपा एसनिकट उपत्यका युवा विशेष जिल्ला कमिटीले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले भनेका थिए, ‘हामीले केपी ओलीसमक्ष आत्मसमपर्ण गर्न सकेनौँ र नयाँ पार्टी बनायौँ । यदि हामी एमालेमै रहेको भए ती १० भाइकोझैं हरिबिजोग हुने रहेछ ।’
उनको सोही टिप्पणीको जवाफ नेता रावलले फर्काएका हुन् ।















प्रतिक्रिया