
काठमाडौं, ३ भदौ । नेपाली काङ्ग्रेसका नेता प्रदीप गिरिको स्वास्थ्यवस्था गम्भीर बनेको छ ।
साउन दोस्रो सातादेखि ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचाररत गिरिलाई लामो समयदेखि सघन उपचार कक्ष (आईसीयू)मा राखेर उपचार गर्दा पनि स्वास्थ्यमा सुधार नआएको बताइएको छ ।
यसैबीच उपचाररत नेता गिरिलाई भेट्न आज शुक्रबार मेडिसिटी अस्पताल पुगेका नेता बिमलेन्द्र निधिले गिरिको स्वास्थ्य सुधारमा ईश्वरी चमत्कारका लागि प्रार्थना गर्न आग्रह गरेका छन् । उनको यो पुकारले गिरिको स्वास्थ्यवस्था गम्भीर रहेको स्पष्ट पारेको छ ।
‘आदरणीय मेरा अग्रज भ्रातातुल्य मित्र, समाजवादी, गान्धीवादी, विचारक, योद्धा, नेपाली कांग्रेसका नेता प्रदीप गिरिलाई मेडिसिटीमा दोस्रोपटक हेरेर बाटोमा फर्कंदै छु । स्तब्ध र निरीह छु । ईश्वरीय चमत्कारको लागि प्रार्थना गर्दछु– सबैले प्रार्थना गरौं,’ अस्पतालबाट फर्किएपछि निधिले ट्विट गरेका छन् ।
आदरणीय मेरा अग्रजभ्रातातुल्य मित्र,समाजवादी, गांधीवादी, विचारक,योद्धा, नेपाली काँग्रेसका नेता प्रदिप गिरि लाई मेडिसिटिमा दोस्रोपटक हेरेर बाटोमा फर्कदै छु। स्तब्ध र निरिह छु। ईश्वरीय चमत्कारको लागि प्रार्थना गर्दछु – सबैले प्रार्थना गरौं !!!
— Bimalendra Nidhi (@BimalendraNidhi) August 19, 2022
लामो समय भारतमा उपचार गरेर स्वदेश फर्किएका उनी फेरि स्वास्थ्यमा समस्या देखिएपछि मेडिसिटी अस्पतालमा भर्ना भएका हुन् । घाँटीको क्यान्सरबाट पीडित उनलाई अहिले निमोनिया पनि देखिएको छ ।
उनलाई गत मंगलबार कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पनि भेट गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।















प्रतिक्रिया