
काठमाडौं, ३ भदौ । साउथ एशियन किक बक्सिङ च्याम्पियनशीप–२०२२ मा सहभागी हुन लागेकी नेपाली खेलाडी शिवानी श्रेष्ठलाई ई–कमर्श प्लाटफर्म बिजबजारले प्रायोजन गर्ने भएको छ ।
साउथ एसियन किक बक्सिङ च्याम्पियनशीप–२०२२ यही भदौ ४ र ५ गते (भोलि र पर्सी) भुटानमा आयोजना हुँदै छ । उक्त प्रतिस्पर्धामा सहभागी हुन लागेकी तेक्वान्दो, कराँते र किक बक्सिङकी राष्ट्रिय खेलाडी शिवानी श्रेष्ठलाई बिजबजारले प्रायोजन गर्न लागेको हो ।

खेलाडी श्रेष्ठ बिजबजारमै कार्यरत समेत छिन् । सो–क्योकुशिनले प्लेयर अफ द एअर अवार्ड बाट सम्मा गरिसकेको श्रेष्ठ आठौँ राष्ट्रिय खेलकुदमा सिल्भर मेडलिस्ट भएकी थिइन् ।
दुई पटकसम्म वीर गणेश मानसिंह मेमोरियल किक बक्सिङ च्याम्पियनशीपमा उनले सिल्भर मेडल प्राप्त गरेकी थिइन् भने सन् २०२१ र २०२२ मा भारतमा आयोजित अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रथम भई स्वर्ण पदक समेत जित्न सफल भएकी थिइन् ।
श्रेष्ठलाई साउथ एशियन किक बक्सिङ च्याम्पियनशीप प्रतिस्पर्धामा हौसला र समर्थक प्रदान गर्न पाएकोमा बिजबजारले आफूलाई गौरवान्वित महसुस गरेको विज्ञप्तिमार्फत जनाएको छ । अहिलेको युगमा कर्पोरेट संस्थाहरूले आफ्ना कर्मचारीहरूको कला, शीप, क्षमता र इच्छाप्रतिको लगावलाई उत्प्रेरित तथा समर्थन गर्न आवश्यक रहेको बताउँदै बिजबजारको यही नीतिले एउटा दक्ष, सक्षम र प्रभावशाली टीमको निर्माण गर्न मद्दत पुगेको कुरा विज्ञप्तिमा उल्लेख गरेको छ ।
आरकेडी समूहले नेपाली बजारलाई डिजिटाइज गर्ने उद्देश्यका साथ सहायक कम्पनी ‘बिजबजार लिमिटेड’लाई पब्लिक कम्पनीको रूपमा स्थापना गरेको बताइएको छ । बिजबजार व्यवस्थित, डिजिटलमैत्री ई–कमर्श प्लेटफर्म हो । जसले लाखौँ मानिसहरूलाई ब्रान्ड सृजना गर्न, तिनीहरूका कथाहरू सुनाउन र आफ्ना ग्राहकहरूसँग अनलाइनमार्फत सरल, सुरक्षित एवम् भरपर्दो तवरले कारोबार गर्न नवीन विचारहरूको साथ सहयोग गर्ने लक्ष्य राखेको छ ।















प्रतिक्रिया