
काठमाडौं, २ भदौ । ट्राफिक प्रहरीले सवारी साधनमा छुटेको १६ लाख रुपैयाँ भन्दा बढी रकम बराबरको सामान फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ ।
काठमाडौँ उपत्यकामा गत साउन महिनामा सवारी साधनमा छुटेका १६ लाख ६४ हजार रुपैयाँ बराबरको सामान खोजतलास गरी सम्बन्धित व्यक्तिलाई बुझाएको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।
गएको साउन महिनाभित्र उपत्यका ट्राफिक प्रहरी कार्यालयको खोजतलास शाखामा ५२ जनाले आफ्नो महत्त्वपूर्ण सामान हराएको भनी निवेदन दिएका थिए । निवेदनको आधारमा ट्राफिक प्रहरीले खोजतलास शुरू गरेको थियो ।
सोही क्रममा सीसी क्यामेराको समेत प्रयोग गरेर उक्त रकम बराबरको सामान फेला पारी सम्बन्धित धनीलाई बुझाइसकेको बताइएको छ ।
सामान छुटेका थप ११ ओटा सवारी साधन फेला परिसकेको तर त्यसमा छुटेका सामान भने फेला पर्न नसकेको उपत्यका ट्राफिक प्रहरी कार्यालयको खोजतलास शाखाले जनाएको छ । सवारी साधनमा छुटेका ८ जना यात्रुको सामानबारे भने अहिले अनुसन्धान भइरहेको छ ।
सवारी साधनमा कुनै पनि सामान छुटेमा सवारी साधनको नम्बर वा रङ र छुटेका सामानको विवरणसहित निवेदन दिन सकिने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।















प्रतिक्रिया