
काठमाडौं, २ भदौ । ‘नेपालमा खाद्य सुरक्षा’सम्बन्धी दुईदिने सेमिनार आज बिहीबार सम्पन्न भएको छ ।
खाद्य सुरक्षासम्बन्धी समष्टिगत अवस्थाको मूल्याङ्कन, विद्यमान नीति एवम् कार्यान्वयन तहमा परिमार्जन गर्न उपयुक्त विषयहरुको विश्लेनषण गरी राय सुझाव प्रस्तुत गर्ने उद्देश्य अनुरुप राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय र नेपाली सेनाको संयुक्त आयोजनामा बुधबार र बिहीबार सेमिनार सञ्चालन गरिएको थियो ।
जङ्गी अड्डामा सञ्चालन भएको उक्त सेमिनार आज प्रधानमन्त्री एवम् रक्षामन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा समापन गरिएको हो ।
नेपाली सेनाका प्रधान सेनापति, रक्षा सचिव एवम् राष्ट्रिय सुरक्षा परिषद्का संयोजकलगायत विभिन्न मन्त्रालयका सचिवहरू, नेपाली सेनाका रथीवृन्दहरू, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान अधिकृत, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालका अतिरिक्त महानिरीक्षकहरू, खाद्य सुरक्षामा आबद्ध निकायका पदाधिकारीहरु तथा विज्ञहरूलगायतको उपस्थिति रहेको थियो ।
समापन समारोहमा प्रमुख अतिथि प्रधानमन्त्री देउवाले उक्त सेमिनारका आयोजक, प्रस्तुतकर्ता र टिप्पणीकर्ताहरुलाई प्रशंसापत्र तथा मोमेन्टो प्रदान गरेका छन् ।
समारोहमा प्रधानमन्त्री एवम् रक्षामन्त्री समेत रहेका देउवाले खाद्य सुरक्षा जस्तो समसामयिक तथा महत्वपूर्ण विषयमा विषयविज्ञ र सरोकारवाला निकायका प्रतिनिधिहरुलाई सहभागी गराई आयोजित उक्त सेमिनारका लागि नेपाली सेना र राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयप्रति धन्यवाद व्यक्त गरेका छन् ।
यस किसिमको सेमिनारले सरोकारवाला निकायहरुलाई खाद्य सुरक्षाका विविध पक्षहरुका बारेमा जानकारी प्राप्त हुनुका साथै आगामी दिनहरुमा खाद्य सुरक्षासम्बन्धी मार्गनिर्देशन गर्ने विश्वास गरिएको छ ।















प्रतिक्रिया