
काठमाडौं, २ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ‘कोष वृद्धि अभियान’ शुरू गरेको छ ।
नेपालमा वैदिक सनातन धर्म सापेक्ष हिन्दुराष्ट्रका पक्षमा जनमत बनाउन हिन्दुराष्ट्र पुनःस्थापना अभियान र आन्दोलनलाई प्रभावकारी दंगबाट अघि बढाउन सहयोग पुग्नेगरी उक्त अभियान शुरू गरिएको राप्रपाले जनाएको छ ।
त्यस्तै अभियानले संसारभरका हिन्दुराष्ट्र नेपाल पक्षधर व्यत्ति, समुह, र संघसंस्थालाई जोड्न, स्वदेश र विदेशमा रहेका नेपालीको साथ सहयोग र समर्थनको अपेक्षा समेत गरेको छ ।
काठमाडौंमा आज आयोजित एक समारोहकाबीच अध्यक्ष राजेन्द्र लिङदेनले अभियानको घोषणा गरेका हुन् ।
‘वैदिक सभ्यताको जननी देवभुमी नेपाल ऋषि–महर्षी आदी पुण्यात्माले तपस्या गर्ने, हिमालय पर्वत श्रृंखला रहेको बौद्ध, चैत्य, गुम्वा, हिमाल, पहाड, तराई, पुण्य नदीहरुको वर्णन रहेको अनेकौ देवी देवताहरुको मठ, मन्दिरले सुसज्जित, मौलिक भाषा, संस्कृति भएको साथै गौरवमय इतिहांस बोकेको विश्वको मानचित्रमा चित्रित एकमात्र हिन्दुराष्ट्रको रुपमा परिचित थियो,’ उक्त पार्टीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा अगाडि लेखिएको छ, ‘अकारण र जनतालाई गुमराहमा राखेर जन अनुमोदन बिना नेपाललाई धर्म निरपेक्ष राष्ट्र बनाउने दुष्कार्य भएकाले सनातन धारको शक्तिकेन्द्र निर्माण एवम् वैदिक सनातन हिन्दुराष्ट्र पुनःस्थापना गर्ने अभियानमा राप्रपाले आर्थिक सहयोग जुटाउने अभियान सञ्चालन गरेको हो ।’
राप्रपाले पार्टीको महामन्त्री एवं आर्थिक श्रोत व्यवस्थापन एवं परिचालन समितिका संयोजक डा. धवल शम्शेर राणाको संयोजकत्वमा अभियान अघि बढाउने बताएको छ ।
यो अभियानका लागि राप्रपाले छुट्टै बैंक खाता सञ्चालन गरेको छ । कोषमा रकम पठाउनका लागि दाताले बैंक खातामा नगद, चेक जम्मा गर्न वा डिजिटल पेमेण्ट सिष्टम अन्तर्गत ई–सेवा खल्ती लगायतका एप्सको प्रयोग गर्न सकिने व्यवस्था राप्रपाले गरेको छ ।















प्रतिक्रिया