४ कार्तिक २०८३, बुधबार

यौन तथा प्रजनन अधिकारको सचेतना फैलाउँदै कावासोतीका किशोरीहरू

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कावासोती (नवलपुर), २ भदौ । नवलपुरको कावासोती नगरपालिकामा किशोरी अभियन्ताहरूले यौन तथा प्रजनन अधिकारको सचेतना फैलाउने अभियान शुरू गरेका छन् ।

समाजमा यौन र प्रजनन स्वास्थ्यको बारेमा खासै छलफल र बहस नहुँदा विभिन्न घटना सार्वजनिक भइरहेको छ । कावासोतीका ३५ जना किशोरी अभियन्ताहरु विद्यालय र समुदाय स्तरमा अभियान शुरू गरी खुल्ला छलफलको पहल गर्न थालेका छन् ।

कावासोती नगरपालिकामा जागृति बाल तथा युवा सरोकार नेपालद्धारा सञ्चालित किशोरी शसक्तिकरण कार्यक्रमका किशोरीहरूले यौन तथा प्रजनन अधिकारसम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिमपश्चात् यो अभियान शुरू गरेका हुन् ।

यो अभियान अन्तर्गत किशोरकिशोरीहरु र उनीहरूका अभिभावकलाई सँगै राखी किशोर अवस्था, महिनावारी सरसफाई, यौन तथा प्रजनन स्वास्थ्यका विभिन्न विषयमा संयुक्त छलफल र अन्तरक्रिया गर्ने गर्द्छन ।

गएको मंगलबार कावासोती नगरपालिका–६ को जनता माध्यमिक विद्यालयमा विद्यालयका किशोर र किशोरीहरूलाई सो अभिमुखीकरण सम्पन्न गरेको जागृति बाल तथा युवा सरोकार नेपालका महासचिव दिपक शर्माले बताए । समुदायस्तरमा यौन तथा प्रजनन स्वास्थ्य अधिकारका बारेमा खुला रुपमा छलफल नगर्ने प्रचलन रहेको अवस्थामा सोको न्युनीकरणका लागि बालबालिका, युवा र समुदायका अगुवाहरूसहितको अन्तरपुस्तालाई लक्षित गरी स्वयम् किशोरीहरूद्वारा नै सो अभियान शुरू गरिएको उनले बताए ।

कार्यक्रममा आफ्नै उमेर समूहका किशोरीहरुले महिनावारी सरसफाई र यौन तथा प्रजननका बारेमा जानकारी दिँदा मज्जाले आफ्नो पहिलो महिनावारी र आफूले नजानेको विषयहरू सोध्न पाएकोमा निकै खुशी लागेको कार्यक्रममा सहभागी किशोरीहरूले बताए । विद्यालयमा यो पढाई हुँदा लाज लाग्ने र आफूलाई लागेको प्रश्न पनि सोध्न डर लाग्ने गरेको तर आफ्नै उमेरका दाइ–दिदीहरूसँग सोध्न र जान्न सजिलो भएको किशोरीहरूको भनाइ छ ।

समाजमा यस्ता विषयमा खासै बहस र छलफल नहुँदा नकारात्मकतातर्फ पनि किशोर किशोरीको ध्यान जान सक्ने भएकाले उमेर अनुसारका विषय खुलेर गर्न सक्ने वातावरणको आवश्यकता रहेको युवा अधिकारकर्मी पवन भुर्तेलले बताए ।

जागृति बाल तथा युवा सरोकार नेपालले क्यान्नालन स्विजरल्याण्डसँगको साझेदारीमा कावासोतीका १७ वटा वडामा ३५ जना १३ देखि १९ उमेर समूहका किशोरीहरुलाई विभिन्न विषयको तालिमहरु प्रदान गरी उनीहरुको मार्फतबाट समुदाय र विद्यालयस्तरमा सचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेका छन् ।

कार्यक्रम कावासोती नगरपालिका–६, रोट्याक्ट क्लब अफ कावासोती, रोट्याक्ट क्लब अफ कावासोती सिटी, नगर स्तरीय युवा संजाल, बिष्णुनगर बाल क्लब र विद्यालयको संयुक्त आयोजनामा सञ्चालन भएको थियो । कार्यक्रममा विद्यालयमा अध्ययनरत ३० जना किशोर किशोरीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा किशोरी अभियन्ताहरु सवनम सुनार, युतिका तिवारी, बिमाया नेपाली र पवन भुर्तेलले सहजीकरण र छलफल गरेका थिए ।