
काठमाडौं, २ भदौ । हराएको नागरिकता दुरूपयोग गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भक्तपुर मध्येपुर ठिमी नगरपालिका–९ का सुरेश भन्ने २८ वर्षीय प्रदिप कर्माचार्य, मुगु खत्याड गाउँपालिका–११ घर भई काठमाडौं बुढानीलकण्ठ नगरपालिका–२ बस्ने २४ वर्षीय विशाल कार्की र मुगु खत्याड गाउँपालिका–८ का २१ वर्षीय रामकृष्ण रावत छन् ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरबाट जारी भएको एक पुरूषको हराएको सक्कल नागरिकताको दुरुपयोग गरी २०७८ मंसिर २८ गते ज्ञानेश्वरमा एभरेष्ट लिंक इन्टनेशनल एजुकेशन प्रालि नामको प्राइभेट कम्पनी दर्ता गरेको, सेञ्चुरी तथा कुमारी बैंकमा खाता खोलेको र वैदेशिक रोजगारीमा रसिया पठाइदिने प्रलोभनमा पारी पीडित व्यक्तिको नामबाटै अन्य व्यक्तिलाई ठगी गरेको पाइएको छ ।
उक्त सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौंबाट पक्राउ गरेको हो । उनीहरूमध्ये प्रदिप उक्त कम्पनीको सीईओ, विशालले पीडितको नाममा बैंकमा खाता खोलेको र रामकृष्णले सहजकर्ताको भूमिका निर्वाह गरेको खुल्न आएको प्रहरीले बताएको छ ।
उनीहरूलाई ठगीसम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको बताइएको छ ।















प्रतिक्रिया