४ कार्तिक २०८३, बुधबार

लघु, घरेलु तथा साना उद्योग बागमती सरकारको प्राथमिकतामा : उद्योगमन्त्री श्रेष्ठ

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ भदौ । बागमती प्रदेश सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मिलनबाबु श्रेष्ठले मुलुकको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने र रोजगारी सिर्जना गर्ने लघु, घरेलु तथा साना उद्योगहरु बागमती सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।

नेपाल घरेलु तथा साना उद्योग महासंघले राजधानीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले अर्थतन्त्रलाई माथि उठाउने र आयात प्रतिस्थापन गर्दै स्थानीय उत्पादनबाटै आत्मनिर्भर बनाउन सघाउने यस्ता उद्योगहरुका लागि बागमती सरकार सदैव साथमा रहेको बताएका हुन् ।

चप्पलदेखि टोपीसम्म, लत्ता कपडादेखि दैनिक उपभोग्य वस्तुसम्म लघु घरेलु तथा साना उद्योगका माध्यमबाट आत्मनिर्भर हुन सक्ने सम्भावना प्रशस्तै रहेको भन्दै मन्त्री श्रेष्ठले रोजगारी र आत्मनिर्भरका हिसाबले यो क्षेत्रका लागि आफुले मन्त्रालय सम्हाल्दासम्म दत्तचित्त भएर सहयोग गर्ने बताए । नेपाल घरेलु तथा साना उद्योग महासंघसँग जोडिएर व्यवसायीहरुलाई सहजता प्रदान गर्ने र उद्यमशीलताको विकास गर्ने कुरामा लागिपर्ने प्रतिवद्घता पनि उनले व्यक्त गरे ।

ललितपुरको लुभु र ठैबमा टेक्सटाइल, भक्तपुरमा काष्ठकला, पाटनमा ललितकता र धातुलगायतका कुराले अर्बौं रुपियाँको आयआर्जनमा भूमिका खेलेको भन्दै उनले घरेलु तथा साना उद्योगका उत्पादनलाई प्रवर्द्धन गर्नका लागि प्रदेशको राजधानी हेटौंडामा चारदेखि पाँच करोडको लागतमा गत वर्षदेखि अत्याधुनिक बिक्री कक्ष निर्माण भइरहेको बताए ।

यस्तै घरेलु सामानको प्रवर्द्धनका लागि चितवन, मकवानपुर, काठमाडौं, भक्तपुर, ललितपुरलगायतका जिल्लामा आधुनिक रुपमा प्रदर्शनी कक्ष निर्माण गर्ने कार्यक्रम राखेको भन्दै उनले महासंघलाई पनि हातमा हात राखेर हिंड्न आग्रह गरे ।

महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले नेपालको सन्दर्भमा लघु, घरेलु तथा साना उद्योगहरु आर्थिक समृद्घिको सम्बाहकका रुपमा रहेतापनि यस्ता उद्योगहरुको प्रमुख समस्याको रुपमा बजार पहुँच रहेको बताए ।

महासंघको पालिकादेखि केन्द्रीय सरकारसम्म नेटवर्क रहेको भन्दै अहिले दुई चार जनाको संस्था खडा गरेर प्रदेशका कार्यक्रमहरुको दुरुपयोग भएकोतर्फ ध्यानाकर्षण गराउँदै त्यस्ता कार्यक्रमका लागि कार्यक्रम नगर्न आग्रह गरे ।

लघु, घरेलु तथा साना उद्योगहरुको उच्चतम सदुपयोग र प्रवर्द्धनबाट अर्थतन्त्रलाई पनि समृद्घ बनाउने दिशामा महासंघ बागमती प्रदेशसँग सहकार्य गरी अगाडि बढ्न चाहेको उनले बताए ।

महासंघका निवर्तमान अध्यक्ष श्यामप्रसाद गिरीले वास्तवमा समानुपातिक विकासका लागि र उत्पादनको समानुपातिक वितरणका लागि प्रदेश सरकारको जरुरी रहेको बताए ।