शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

‘नबिल फोनलोन–क्यूआर मर्चेन्ट’ सेवा शुरू, घरैमा बसेर बिनाधितो ऋण लिन सकिने

दैनिक नेपाल २०७९ साउन ३१ गते १८:४८

काठमाडौं, ३१ साउन । नबिल बैंकले नेपालमा पहिलो पटक आफ्ना क्यूआर मर्चेन्टलाई फोनलोनको सुविधा सुभारम्भ गरेको छ ।

नबिल फोनलोन–क्यूआर मर्चेन्ट नामको सेवाको सुरुवातसँगै क्यूआर मर्चेन्टले घरमा बसी–बसी कुनै पनि धितोबिना नै नबिल स्मार्ट बैंकिङमार्फत् तुरुन्तै कर्जा पाउन सक्ने छन् ।

बैंकले यूएनसीडीएफको सहकार्यमा साना तथा मझौला व्यवसाय गरिरहेका युवा तथा महिला उद्यमीहरुलाई लक्षित गरी यो सुविधा ल्याएको जनाएको छ । यो सेवाअन्तर्गत कर्जा लिन चाहने व्यवसायीहरुले नबिलको क्यूआर मर्चेन्टमा एकल नाममा दर्ता हुनुपर्ने छ र नबिल स्मार्ट बैंकिङ लिनुपर्ने छ ।

त्यसका साथसाथै अघिल्लो महिनामा पाँचवटा क्यूआर कारोबारबाट रू. १० हजार बराबरको कारोबार गर्नुपर्नेछ र पछिल्लो चार हप्तामा हरेक हप्ता एउटा कारोबार हुनुपर्ने बैंकद्वारा जारी प्र्रेस विज्ञप्तिमा उल्लेख छ ।

‘यो नबिलले ल्याएको पूर्ण रुपमा डिजिटल सेवा हो । हामीले कुनै धितोबिना नै क्यूआर कारोबारलाई आधार मानेर हाम्रा क्यूआर मर्चेन्टहरुलाई डिजिटल कारोबार गर्न प्रोत्साहन गर्न नेपालमा पहिलो पटक यो सुविधा ल्याएका हौं,’ बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गानाले भने । यो सेवाले साना तथा मझौला व्यवसाय गरिरहेका युवा तथा महिला उद्यमीहरुलाई आफ्नो व्यवसाय विस्तार गर्न मद्दत पुग्ने र डिजिटल बैंकिङ प्रयोग गर्न प्रेरणा मिल्ने उनको विश्वास छ ।

शुरुवाती चरणमा व्यवसायीहरुले रू. १ लाखसम्मको बिनाधितो कर्जा एक महिनाका लागि लिन सक्ने छन् । उक्त सुविधालाई अझ परिमार्जित गरी कर्जा रकम तथा समय थप्दै जाने बैंकले जनाएको छ । यसअघि नबिल बैंकले पहिलो पटक तलबी व्यक्तिका लागि बिनाधितो डिजिटल कर्जा सुविधा नबिल फोनलोन सुविधा ल्याएको थियो ।

प्रतिक्रिया
सम्बन्धित