शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

राप्रपा नेपालले अधिकांश निर्वाचन क्षेत्रमा एकल उम्मेदवार उठाउने, उम्मेदवारी छनोट भदौभित्रै

असोजको पहिलो हप्ता वीरगञ्जमा ‘बृहद राष्ट्रिय भेला’ गरिने

दैनिक नेपाल २०७९ साउन ३१ गते १६:३५

काठमाडौं, ३१ साउन । कमल थापा नेतृत्वको राप्रपा नेपालले प्रतिनिधिसभा र प्रदेशसभाका अधिकांश क्षेत्रमा एकल उम्मेदवार खडा गरेर आगामी निर्वाचनमा प्रतिस्पर्धा गर्ने निर्णय गरेको छ ।

सोमबार र मंगलबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले देशको वर्तमान अवस्थाको समीक्षा, पार्टीको भावी कार्यदिशा र कार्यक्रमको निर्धारण तथा आगामी निर्वाचनको तयारीका सम्बन्धमा गम्भीर छलफल गरी उक्त निर्णय गरेको हो ।

नर्णय अनुसार आगामी निर्वाचनमा प्रदेशसभा र प्रतिनिधिसभाका केही सीमित क्षेत्रहरूमा अन्य राजनीतिक दलसँग चुनावी तालमेल गर्ने तर तालमेल नभएको सबै क्षेत्रमा पार्टीले आफ्नै उम्मेदवार खडा गर्ने भएको छ ।

‘तालमेल नभएका बाँकी सबै प्रदेशसभा र प्रतिनिधिसभाका क्षेत्रमा राप्रपा नेपालले उमेदवार खडा गर्नेछ,’ बैठकपछि मंगलबार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । त्यसका लागि प्रदेशसभा र प्रतिनिधिसभाका प्रत्यक्ष र समानुपातिक दुवै तर्फका उमेदवारहरुको नाम जिल्ला कार्यसमितिले भदौ २१ गतेभित्र प्रदेश कार्यसमितिमा पठाउने र जिल्ला कार्यसमितिको सिफारिशसहित प्रदेश कार्यसमितिले भदौ २५ गतेसम्ममा केन्द्रमा पठाईसक्नु पर्ने छ ।

त्यस्तै केन्द्रीय कार्यसम्पादन समितिले संसदीय बोर्डको सिफारिशमा भदौ मसान्त भित्रै सम्पूर्ण उमेदवारहरुको नामावली टुङ्गो लगाउने निर्णय पनि बैठकले गरेको छ ।

बैठकले आगामी २०७९ असोजको पहिलो हप्ता वीरगञ्जमा ‘बृहद राष्ट्रिय भेला’ आयोजना गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित