शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

ट्राफिक प्रहरीले भेट्टायो हराएका २५ वटा मोटरसाइकल तथा स्कुटर

दैनिक नेपाल २०७९ साउन ३१ गते १५:०३

काठमाडौं, ३१ साउन । विभिन्न मितिमा हराएका २५ वटा मोटरसाइकल तथा स्कुटर काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले फेला पारेको छ ।

फेला पारिएका ती मोटरसाइकल तथा स्कुटरहरू आज मंगलबार सम्बन्धित सवारीधनीलाई बुझाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।

कार्यालयमा आयोजित एक कार्यक्रमबीच १६ ओटा मोटरसाइकल र ९ ओटा स्कुटर सम्बन्धित धनीलाई बुझाइएको बताइएको छ । कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले ती सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् ।

उपत्यका र उपत्यका आसपासको ईलाकामा बिशेष सूचना संकलन गरी अपरेसनमा गई मोटरसाइकल तथा स्कुटरहरु बरामद गरी चोरीमा संलग्न मानिसहरुलाई समेत पक्राउ गरी आवश्यक कारबाहीका लागी विभिन्न प्रहरी कार्यालयहरुमा पठाउने गरेको प्रहरी वरिष्ठ उपरीक्षक भट्टले जानकारी दिए ।

हराएका सवारी साधन खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आएको तर स्वयम् सवारीधनी पनि बिशेष चनाखोका साथै सजक हुनुपर्ने र सवारी चालक थप जिम्मेवार बनि सुरक्षित स्थानमा मात्र पार्किङ गर्न, अतिरिक्त लक तथा सुरक्षाका उपायहरुको समेत प्रयोग गर्न उनले अनुरोध गरेका छन् ।

गत आर्थिक वर्ष ७७/७८ मा ४१९ ओटा, ७८/७९ मा ५०६ र यही साउन महिना भरी ६८ ओटा दुई पाङग्रे सवारी साधन सम्बन्धित धनीलाई जिम्मा लगाइसकेको कार्यालयको भनाइ छ ।

चोरीमा संलग्न त्यस्तै ९९ जनालाई पक्राउ गरि आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि विभिन्न प्रहरी कार्यालयहरुमा पठाएको समेत ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । सवारी साधन हराएको थाहा पाउनासाथ ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाईन नम्बर १०० मा फोन गरेर जानकारी दिन सकिनाका साथै नजिकको प्रहरी कार्यालयमा निवेदन दिन ट्राफिक प्रहरी कार्यालयले अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित