
काठमाडौं, ३१ साउन । रामलक्ष्मण इनोभेसन्सले नेपालमै उत्पादन गरेको निर्वाचनको लागि विद्युतीय मतदान यन्त्र (ई–भोटिङ मेशिन) सार्वजनिक गरेका छन् ।
आज मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर उक्त ई–भोटिङ मेशिन सार्वजनिक गरिएको हो । साथै नमूना मतदान कार्यक्रम समेत सम्पन्न गरिएको छ । आज सार्वजनिक गरिएको यन्त्र रामलक्ष्मण दाजुभाइको पाँचौ संस्करण हो ।
वर्षौदेखि प्रविधि अनुसन्धानमा खटिएका दाजुभाइ रामप्रसाद रिमाल र लक्ष्मणप्रसाद रिमालले उत्पादन गरेको मेशिनको उद्घाटन बुबा ईश्वरीप्रसाद र आमा गंगा रिमाल तथा रिपोटर्स क्लबका सभापति ऋषि धमलाले संयुक्त रूपमा गरे ।
करिब एक दशकअघि नेपालमै उत्पादन भएको ई–भोटिङ मेशिनले हालसम्म १०० पटकभन्दा बढी राजनीतिक दल, विभिन्न संघ/संस्थालगायतका निर्वाचन सफलतापूर्वक सम्पन्न गरिसकेको राम प्रसाद रिमालले बताए ।
यदपि, निर्वाचन आयोगले भने मेशिनबारे पटक–पटक कुरा राख्दा पनि चासो नदिएको उनले गुनासो गरे । उनले भने, ‘मेशिन बनाएको १० वर्षसम्म पनि निर्वाचन आयोगले कुनै पनि इनपुटहरू दिएको छैन् । आयोगले हामीलाई वास्ता नगरेकोझैँ लागिरहेको छ । यो प्रस्ताव लिएर जाँदा आयोगले पार्टीहरूसँग सल्लाह गर्न सुझाव दिएअनुसार हामी पार्टीहरूमा कुरा राख्न गयौं ।’
आयोगले आफूहरूको मेशिनबारे केही अपुग भएको वा मिलाउनुपर्ने केही भए मिलाउ भनेमा त्यो गर्न पनि आफूहरू तयार रहेको उनको भनाई छ । तर, यति गर्दा पनि आयोग मौन रहेको उनको दुःखेसो थियो ।
आयोगले धेरै भोट आउने वा दुर्गम स्थान २/४ एरिया तोकेर जिम्मेवारी दिए पनि त्यसको लागि डेमो गर्न आफूहरू तयार रहेको उनको भनाइ छ । ‘हाम्रो मेशिन प्रयोग गरेर नेपालमा केही निर्वाचन गरेमा केही न केही नजिर त बदस्थ्यो । नेपाली उत्पादनले पनि काम गर्छ है भन्ने पनि प्रमाणित हुने थियो र हामीहरूजस्तै प्रविधिमा लागेका पछिल्ला पिढीलाई पनि हौसला मिल्ने थियो,’ रामप्रसादले भने ।

नेपालको अवस्था हेरेर मेशिनको निर्माण गरिएको बताउँदै उनले मतपत्रमा देखिने सबै कुरा डिजिटल डिस्प्लेमा देखिने बताए । उनले भने, ‘योभन्दा अघि बनाएको मेशिनबाट नेकपा एमालेको महाधिवेशनसहित १०० वटा भन्दा बढी निर्वाचन गरिसकेका छौं । अहिले त्यसमा केही प्रविधि थपेर नयाँ मेशिन बनाएका हौँ ।’
उनले मेशिनमा नेपाली भाषामा बोल्ने, आँखा नदेख्ने र कान नसुन्नले पनि सुनेर मतदान गर्न सकिने प्रविधि जडान गरिएको जानकारी दिए । मेशिनबाट भोटिङ गर्दा कुनै पनि मत बदर हुन नसक्ने समेत उनको दाबी छ ।
सयौँ वर्ष प्रयोग गर्न सकिने, भोटिङ गर्दा लागेको समय पनि स्पष्ट देखिने हुनाले कुनै विषयमा मुद्दा परेमा त्यसबारे पनि आवश्यक प्रमाण प्रिन्ट पनि गर्न मिल्ने उनको भनाई थियो । उनले उक्त मेशिनले पावर कम खपत गर्ने र मेशिनको ब्याकअप ३ वटा राखिने पनि बताएका छन् ।
त्यस्तै, लक्ष्मण प्रसाद रिमालले आगामी चुनावमा एक व्यक्तिले ४ वटा मतपत्रमा चिह्न लगाउनुपर्ने हुँदा समय बढी लाग्ने तर ई–भोटिङ मेशिनमा औँलाले दबाउने भएकाले छिटो हुने दाबी समेत गरे ।
उनले अहिलेसम्म अपाङ्गता भएका व्यक्तिहरूले कसैको सहयोग बिना मेशिनबाट मतदान गरेको सुनाए । मेशिनले सिधै रिजल्ट देखाउने हुँदा नतिजाको लागि घण्टौँसम्म कुर्न नपर्ने समेत बताएका छन् ।
ह्याकरले ह्याक गर्न नसक्ने प्रविधि जडान गरिएको दाबी गर्दैै उनले भने, ‘प्रत्येक व्यक्तिले मत दिएपछि ह्यास दबाउँदा कसैले केही गर्न सक्दैन् । यो सिस्टममा डिजिटल सिग्नेचरको युज गरिएको छ । डाटा सेक्युरिटी स्ट्रोङ छ । सोर्सकोड युनिकोडमा गरिएको छ ।’
उनले १२ वर्ष मिहिनेत गरेर निर्माण गरेको मेशिनको प्रयोग गर्न सरकारलाई आग्रह पनि गरेका छन् । ‘सरकारले कि त हाम्रो मेशिनमा खोट देखाइदिनुपर्यो कि त नमूना प्रयोगसम्म गरिदिनुपर्यो । यो काम देशको लागि गर्ने हो भने हामी पनि व्यवसाय हेर्दैनौं, देशको लागि हाम्रो १२ वर्षे मिहिनेत कुनै रोयल्टी बिना निःशुल्क सरकारलाई दिन हामी तयार छौं,’ उनले भने ।















प्रतिक्रिया