४ कार्तिक २०८३, बुधबार

गायिका स्मिता घिमिरेको निधन

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ साउन । गायिका तथा लेखिका स्मिता घिमिरेको निधन भएको छ ।

विगत तीन वर्षदेखि क्यान्सर रोगबाट पीडित गायिका घिमिरेको हरिसिद्धिस्थित क्यान्सर अस्पतालमा उपचारकै क्रममा सोमबार साँझ निधन भएको हो । पूर्व प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाकी नातिनी समेत रहेकी गायिका घिमिरे बोनम्यारोको क्यान्सरबाट पीडित थिइन् ।

उनको सोमबार साँझ नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । गायिका स्मिता मातृकाप्रसाद कोइरालाकी छोरी सबिता अर्यालकी छोरी हुन् ।

गायिका घिमिरेले थुप्रै नेपाली गीतहरु गाउनाका साथै केही महिनाअगाडि आफ्नो जीवनकै पहिलो उपन्यास ‘हराएको मुस्कान’ समेत सार्वजनिक गरेकी थिइन् ।

सांगीतिक पृष्ठभूमि भएको विराटनगरको कोइराला परिवारकी नातीनि स्मिता ४–५ वर्षको उमेरदेखि नै संगीतप्रति रुची देखाउँदै आएकी थिइन् । एसएलसी दिनुअघि नै विराटनगरमा सम्पन्न एउटा बाल गायन प्रतियोगितामा तेस्रो स्थान जितेपछि उनको औपचारिक सांगीतिक यात्रा प्रारम्भ भएको थियो ।

काठमाडौं आएर संगीतकार दीपक जंगमसँग संगीतको औपचारिक प्रशिक्षण लिएपछि गीत–संगीतमा सक्रिय भएकी यी गायिकाले स्टुडियोमै गएर पहिलो गीत रेकर्ड गराएको करिब एक दशक भयो ।

करिब दुई दशकअघि क्यान्सरबाट निधन भएकी आफ्नी आमाको नाममा खोलिएको सबिता स्मृति ट्रस्टका लागि उनले आफ्नो पहिलो एल्बम ‘स्मि’को बिक्रीबाट आएको ५० हजार रुपैयाँ प्रदान गरेकी थिइन् । उक्त ट्रस्टले अहिले पनि स्वास्थ्य क्षेत्रमा कार्य गरिरहेको छ ।

मनोविज्ञान र नेपालीमा स्नातक गरेकी गायिका घिमिरेले यो अवधिमा सुगम संगीतमा आधारित थुप्रै गीत तथा गीति संग्रह सार्वजनिक गरेकी थिइन् ।

सांगीतिक क्षेत्रमा सक्रिय रहेको बेला तथा उपन्यासलाई अन्तिम स्वरुप प्रदान गरिरहेको बेला करिब साढे दुई वर्षअघि गायिका घिमिरेलाई देब्रे स्तनमा क्यान्सर देखिएको थियो ।

उनका ‘ए भन्छन्’, ‘आँखाको नानी हौ’, ‘भाग्य भन्नु’, ‘कति मीठो माया’, ‘गहिरो तालको’ र ‘के भो आज भोलि’लगायत गीत रुचाइएका छन् भने ‘स्मि’ नाममा एल्बम समेत सार्वजनिक छन् ।