बिहीबार, २० वैशाख २०८१
DainikNepal.com
बिहीबार, २० वैशाख २०८१

‘दलहरूले राष्ट्रपतिमाथि अत्याचार गर्न खोजे जनता सडकमा आउँछन्’

प्रचण्डलाई प्रधानमन्त्री बन्ने अधिकार छैन

दैनिक नेपाल २०७९ साउन ३० गते १८:२९

काठमाडौं, ३० साउन । संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाले नागरिकता विधेयक पुनरर्विचारका लागि संसदमा पुनः पठाउने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमको स्वागत गरेको छ ।

राष्ट्रपति भण्डारीले नागरिकता विधेयकमा संसदले पुनर्विचार गर्न आवश्यक भएको भन्दै आइतबार संसदमै फिर्ता पठाएकी थिइन् । मोर्चाले गत साउन २६ गते भण्डारीलाई राष्ट्रिय एकताको प्रवर्द्धन गर्न नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधिनताको रक्षा गर्नू राष्ट्रपतिको संवैधानिक दायित्वबारे ध्यानाकर्षण गराएको थियो ।

राजनीतिक अधिकारको इच्छाको पूर्णताका लागि वैवाहिक सम्बन्धको आधारलाई विचार गर्नु वाञ्छनीय छ भन्दै राष्ट्रपति भण्डारीलाई माोर्चाले ज्ञापनपत्र समेत बुझाएको थियो ।

मोर्चाका अध्यक्ष तारानाथ लुइँटेलले नागरिकता विधेयक संसदमा फिर्ता गरेकोमा राष्ट्रपति भण्डारीलाई धन्यवाद दिए । उक्त विधेयक प्रमाणीकरण नगरेर भण्डारीले राष्ट्रको अस्मिता जोगाएको उनको भनाई छ । लुइँटेलले नागरिकता विधेयकलाई आत्मघातीको संज्ञा दिँदै विदेशीको इशारा, चाकडी र मुलुकलाई विखण्डन गर्न नेताहरूले ल्याएको उनले टिप्पणी गरे ।

‘यो विधेयक राष्ट्रघाती छ, दलहरुले छिटो भन्दा छिटो दुवै संदनबाट पास गरेर राष्ट्रपतिलाई प्रमाणीकरण गर्न पठाएका होइनन् र, किन यति चाँडो पठाए ? यो देश २ करोड नेपालीको हो विदेशीको होइन्,’ उनले भने । सो विषयमा राष्ट्रपति भण्डारीमाथि दलहरूले अत्याचार गर्न खोजे जनता बाध्य भएर सडकमा उत्रने उनको भनाइ छ ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई १७ हजार मानिसको हत्याराको संज्ञा दिँदै उनले सत्य निरुपण आयोगमा ७० हजार मुद्दा अझै जारी रहँदै गर्दा प्रचण्ड फेरि प्रधानमन्त्री बन्न खोजेको भन्दै उनले आपत्ति जनाए । वर्तमान समयमा नेपालमा कुनै पनि स्थानमा जनताले चित्त बुझाउने अवस्था नभएको भन्दै उनले भने, ‘अब आउने दिनमा नेपाली जनता चनाखो भएर चुनावमा उम्मेदवार छान्न पर्छ ।’

प्रतिक्रिया
सम्बन्धित