
काठमाडौं, २९ साउन । नेपाल निजामती कर्मचारी संगठनले आन्दोलनको चेतावनी दिएको छ ।
संगठनका अध्यक्ष लेखनाथ कोइरालाले आफूहरूको माग बमोजिम तीन तहको कर्मचारीलाई मार्गनिर्देशन गर्ने ऐन जारी नभएमा संगठनको नेतृत्वमा चरणवद्ध आन्दोलनका कार्यक्रम अगाडि बढाउने चेतावनी दिएका हुन् । आवश्यक परे आन्दोलनका लागि अन्य ट्रेड युनियनलाई समेत आह्वान गरिने जानकारी उनले दिएका छन् ।
उनले प्रस्तावित संघीय निजामती सेवा ऐन स्थानीय, प्रदेश र केन्द्रीय तीन तहमा कार्यरत कर्मचारीहरूलाई मार्गनिर्देशन गर्ने मूल कानून निजामती सेवा ऐन जारी गर्न नेपाल सरकारले ढिलासुस्ती गरेको भन्दै आपत्ति जनाए ।
साउन २६, २७ र २८ गते भक्तपुरको गठ्ठाघरमा सम्पन्न भएको बैठकले महासचिव जीवन काफ्लेद्वारा प्रस्तुत ‘सांगठनिक प्रतिवेदन’ र कोषाध्यक्ष गणेश प्रसाद आचार्यद्वारा प्रस्तुत ‘आर्थिक प्रतिवेदन’ सुझावसहित सर्वसम्मत पारित गरेको छ ।
अध्यक्ष कोइरालाले नेपाल निजामती कर्मचारी संगठन केन्दिय समितिको बैठकले दूरगामी महत्व राख्ने निर्णयहरू गरेको बताए । उनले दोस्रो बैठकमा लेखापरीक्षण, अनुशासन आयोग र निर्वाचन आयोगका अध्यक्ष तथा सदस्यहरूलाई २ दिने प्रशिक्षण दिएको बताए ।
उनले भने, ‘संगठन केन्द्रीय कार्य समितिका १६ वटा विभागहरूको गठन, ११औं राष्ट्रिय अधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिका पदाधिकारी/सदस्यहरूको कार्य विभाजन गरेका छौं ।’ तीनै तहमा कार्यरत कर्मचारीलाई निजामती कर्मचारीको परिभाषामा समावेश गरी कर्मचारी तथा ट्रेड युनियनमैत्री ऐन जारी गर्न सरकारलाई विशेष पहल गरिने उनको भनाई थियो ।
















प्रतिक्रिया