
रूकुम (पूर्व), २८ साउन । सवारी दुर्घटनामा परी एक जना प्रहरी जवानको मृत्यु भएको छ भने पाँच जना प्रहरी कर्मचारी घाइते भएका छन् ।
पुथा उत्तरगंगा गाउँपालिका–११ तल्लोसेरा भन्ने स्थानमा लु. १ झ ६६० नम्बरको गाडी सडकबाट अन्दाजी १५० मिटर तल खसेर शनिबार बिहान दुर्घटना हुँदा गाडीमा सवार प्रहरी जवान लक्ष्मण पुनको मृत्यु भएको हो । दुर्घटनामा परी पाँच जना प्रहरी कर्मचारी घाइते भएका छन् ।
प्रमुख जिल्ला अधिकारी तुलराज सुनुवार, जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व)का कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश डाँगी र सशस्त्र प्रहरी बल आश्रित गुल्म रुकुम (पूर्व) का प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक रवीन्द्र श्रेष्ठसहितको टोली इलाका प्रहरी कार्यालय तकसेरा निरीक्षण तथा सो क्षेत्रको शान्ति सुरक्षाको वस्तुस्थिति बुझ्न हिँडेका थिए । सोही क्रममा प्रहरी कर्मचारीहरूमात्र सवार उक्त गाडी दुर्घटनामा परेको हो ।
घाइतेहरूलाई उपचारको लागि तत्काल नेपाली सेनाको हेलिकोप्टरद्वारा कोहलपुर मेडिकल कलेज नेपालगञ्ज बाँकेमा लगिएकोमा उपचारको क्रममा प्रहरी जवान पुनको मृत्यु भएको थियो । अन्य घाइतेहरूको सोही अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।















प्रतिक्रिया