
काठमाडौं, २८ साउन । नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले आगामी मंसिर ४ गते हुने निर्वाचनमा आफ्नो पार्टीले एक्लै बहुमत ल्याउने दाबी गरेका छन् ।
आज शनिबार राजधानी काठमाडौंमा आयोजित एक साक्षातकारमा उनले जनतामा एमालेको ठूलो प्रभाव रहेको बताउँदै जनताले एमालेलाई नै अबको निर्वाचनपछि सरकारको नेतृत्वमा पुर्याउने दाबी गरेका हुन् । ‘यो चुनावमा एमालेले एक्लै विजय प्राप्त गर्नेगरी तयारी गरेको छ । एमालेको जनप्रभाव जुन छ, पाँचदलीय गठबन्धनका साथीहरू नै यसबारेमा सबैभन्दा बढी सचेत छन्,’ उनले भने, ‘कांग्रेसले त एक्लै एमालेलाई पराजय गर्न नसकिने निष्कर्षका साथ अहिले अरू सहयोगीको खोजी गरिरहेको छ ।’
एमालेले स्थानीय तहको निर्वाचनमा ३४ प्रतिशत प्राप्त गरेको छ । जनमतको हिसाबले एमाले अहिले पनि ठूलो दल भएको दाबी गर्दै नेता ज्ञवालीले भने, ‘एमालेको नीति, सिद्धान्त, विचार र एमाले सरकारले गरेका कामहरूले एमाले विजयी हुने बलियो आधार छ ।’
नेपाली जनता अहिले कतिबेला चुनाव हुन्छ र एमालेलाई मतदान गरौंला भनेर पर्खिएर बसेको टिप्पणी गरे । उनले भने, ‘जनता अहिले एमालेलाई मतदान गर्नका लागि प्रतिक्षा गरेर बसेका छन् । अहिलेको सरकारको कामबाट जनता वाक्कदिक्क भएका छन् । कांग्रेससँगै अहिलेको गठबन्धनलाई विदाई गर्ने तयारीमा जनता जुटेका छन् । हामी आफ्नो खुट्टामा उभिएर चुनाव जित्ने तयारीमा लागेका छौं । हामी एक्लै बहुमत ल्याउँछौं ।’ अहिलेसम्म एमालेको जति वटा सरकार बने, मनमोहनदेखि केपी ओलीको पालासम्म, ती सरकारले नेपाली जनता र राष्ट्रको लागि महत्वपूर्ण काम गरेको दाबी उनको छ ।
ज्ञवालीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल कांग्रेसलाई पहिलो दल बनाउन सक्रिय भएर लागेको पनि बताए । उनले भने, ‘उहाँहरू कांग्रेसलाई पहिलो बनाउन लागिरहनुभएको छ । कांग्रेस जिताउनका लागि उहाँहरूको अभियान हो । तर, एमाले कम्युनिष्ट पार्टी हो । यो समाजवादको यात्रामा अघि बढिरहेको छ । नेपालको राजनीतिमा कांग्रेसका नेतृत्वमा पुँजीवादलाई सुदृढ गर्ने काम भएको छ भने एमालेको नेतृत्वमा समाजवादको यात्रा तय गर्न अभियान चलेको छ । यो चुनाव भनेको समाजवाद र पुँजीवादको लडाईं पनि हो । नेपाली जनता समाजवादको पक्षमा छन् । वापमन्थी विचारको पक्षमा छन् । शान्ति र समृद्धिको पक्षमा छन् ।’
नेपालको राजनीतिमा मुख्य प्रतिस्पर्धा भनेको कांग्रेस र कम्युनिष्टहरूको बीचमा हुने भन्दै उनले माधव नेपालहरूले यो चुनावपछि पछुताउनुपर्ने अवस्था आउने समेत बताए ।















प्रतिक्रिया